पुतलीबजार नगरपालिकाद्वारा क्रिकेट खेलाडीलाई सम्मान
काठमाडौं, २० माघ । स्याङ्जाको पुतलीबजार नगरपालिका प्रशासनले उत्कृष्ट प्रदर्शन गर्ने महिला क्रिकेट खेलाडीहरूलाई सम्मानित गरेको छ। नगरपालिकाले क्रिकेट खेलाडी ज्योत्स्निका मरासिनी, कुसुम गोदार र सिमाना के.सी.लाई प्रति खेलाडी ३३ हजार ३ सय ३३ रुपैयाँ नगद, दोसल्ला र सम्मान पत्र प्रदान गरेर सम्मानित गरेको हो।
यी खेलाडीहरूले आईसीसी यू १९ महिला विश्वकप र एसीसी यू १९ महिला एशिया कप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।
कार्यक्रममा नगर उप–प्रमुख देवी अर्याल र नगर प्रमुख तुलसीराम रेग्मीले खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै, नगरपालिकाले खेलकुदको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सम्मानित खेलाडी सिमाना के.सी.ले आफ्नो अनुभव साझा गर्दै, “नगरपालिकाले गरेको सम्मानले मलाई अझ बढी मेहनत गर्न प्रेरित गरेको छ,” भने। कार्यक्रमको अवसरमा नगर कार्यपालिकाका सदस्यहरू र शाखा प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।