न्याय परिषद सदस्यमा खड्काको नाम सुनुवाइ समितिबाट अनुमोदन
काठमाडौं, २० माघ । न्याय परिषद्को सदस्यमा प्रस्तावित दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले खड्काको नाम अनुमोदन गरेको हो ।
बैठकको निर्णय सुनाउँदै संसदीय सुनुवाइ समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्याय परिषद्को सदस्य पदमा सिफारिस भएका दामोदर खड्काको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको बताए।
उनले भने, “न्याय परिषद्को मिति २०८१, पुस २९ गतेको पत्रानुसार न्याय परिषद्को सदस्य पदमा सिफारिस हुनुभएका दामोदर खड्काको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको व्यहोरा यहाँहरुलाई जानकारी गराउँछु ।”
समितिको बैठकमा आफ्नो कार्य विवरण प्रस्तुत गर्दै न्याय परिषद् सदस्यमा सिफारिस खड्काले समाजका सबै अंग अवयवहरूले राम्रो कुरालाई अघि ल्याउनुपर्ने बताए । उनले छिटो छरितो न्याय सम्पादनका लागि न्याय परिषद्को तर्फबाट पहल र सहजीकरण गर्ने बताए
नेपाल बार एसोशिएशनले संसदीय सुनुवाइको लागि न्याय परिषद्को सदस्यमा खड्काको नाम सिफारिस भएको पत्र समितिलाई पुसको २९ गते पठाएको थियो । न्याय परिषद्मा प्रधानन्यायाधीश, कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र दुई सदस्य रहने संवैधानिक व्यवस्था छ । ती दुई सदस्यमध्ये एक जना प्रधानमन्त्रीको सिफारिसमा र अर्को नेपाल बार एसोशिएशनको सिफारिसमा नियुक्त हुने व्यवस्था छ । न्याय परिषद्का सदस्यको पदावधि चार वर्षको हुने संवैधानिक प्रावधान छ ।