नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै
काठमाडौं, २१ माघ । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको आधारमा २५ प्रतिशतले हुन आउने ५० लाख ३० हजार ९०१ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
यो हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले ग माघ १८ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।
यो हकप्रद शेयर खरीदका लागि योग्य शेयरधनीहरुले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीले यो हकप्रद शेयर निष्कासन तथा विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते अनुमति पाएको थियो । अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीको २५ प्रतिशत हकप्रद शेयरपछि जारी पूँजी बराबरको रकम कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले गरेको पूँजी वृद्धिको व्यवस्था बमोजिम कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ पूँजी कायम गर्नुपर्ने अवस्था थियो । त्यसका लागि हकप्रद शेयरको सहारा कम्पनीले लिएको हो ।