बिहीबार २४ माघ, २०८१

६ महिनामा १ खर्बभन्दा बढी सेयर धितो कर्जा प्रवाह

६ महिनामा १ खर्बभन्दा बढी सेयर धितो कर्जा प्रवाह

काठमाडौं, २२ माघ । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा एक खर्ब १३ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा (सेयर धितो कर्जा) प्रवाह गरेका छन् । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म यस्तो कर्जा २६.२९ प्रतिशतले वृद्धि भएको हो । गत असार मसान्तसम्म यस्तो कर्जा ९० अर्ब नौ करोड ३२ लाख रुपैयाँ प्रवाह भएको थियो ।

ठूला लगानीकर्ता धितोपत्र दोस्रो बजारमा प्रवेश गर्दा सेयर धितो कर्जा बढेको जानकारहरू बताउँछन् । यो अवधिमा एक करोडभन्दा माथिको सेयर धितो कर्जा १९ अर्ब ५१ करोड २१ लाख रुपैयाँले बढेको छ । 

पुस मसान्तसम्म एक करोडभन्दा माथि लिनेहरूमा यस्तो कर्जा ७५ अर्ब ४४ करोड २३ लाख रुपैयाँ प्रवाह भएको छ । गत असार मसान्तसम्म यस्तो कर्जा ५५ अर्ब ९३ करोड दुई लाख रुपैयाँ प्रवाह भएको थियो ।

त्यस्तै, ५० लाखदेखि एक अर्बसम्म लिनेमा १४ अर्ब २८ करोड १८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । गत असार मसान्तसम्म यस्तो कर्जा १२ अर्ब ४२ करोड रुपैयाँ प्रवाह भएको थियो । ६ महिनामा यस्तो कर्जा १४.९२ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै, ६ महिनामा १६ अर्ब १४ करोड रुपैयाँ २५ लाखदेखि ५० लाखसम्मको सेयर धितो कर्जा प्रवाह भएको छ । गत असारसम्म यस्तो कर्जा १४ अर्ब ४२ करोड रुपैयाँ प्रवाह भएको थियो ।

त्यसैगरी, २५ लाखसम्मका सेयर धितो कर्जा सात अर्ब ९० करोड रुपैयाँ प्रवाह भएको केन्द्रीय बैंकको तथ्यांक छ । गत असार मसान्तसम्म सात अर्ब ३१ करोड रुपैयाँ २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा प्रवाह भएको थियो ।

एक करोडभन्दा माथि सेयर धितो कर्जा लिने बढेकाले पनि ठूला लगनीकर्ता बजारमा प्रवेश गरेको आशंका गरिएको छ । पछिल्ला दिनका दैनिक कारोबार रकमले पनि ठूलो लगानी सेयर बजारमा भित्रिएको हुनसक्ने सेयर बजारका जानकार बताउँछन् ।