थाइल्याण्डविरूद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल
काठमाडौं, २२ माघ । राजधानीमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलाको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्ने भएको हो । थाइल्याण्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले ब्याटिङ रोजेकी हुन् ।
नेपालले आज युवा बलर रचना कुमारी चौधरीलाई डेब्यू दिएको छ । चोटका कारण कविता कुँवर टिमबाट बाहिर भएपछि उनको ठाउँमा शृंखलाकै लागि रचना कुमारी चौधरी टिममा आएकी थिइन् । रचनाले नेपालको यू–१९ टोलीबाट महिला विश्वकप खेलेकी थिइन् ।
त्यसैगरी आज सिता राना मगर पनि बाहिर छिन् । उनको ठाउँमा रोमा थापा टिममा आएकी छन् । उनी शृंखलामा पहिलोपटक खेल्दै छन् ।
नेपाल अहिलेसम्म खेलेका तीनवटै खेलमा पराजय व्यहोरेको छ । आजको खेल जित्नैपर्ने दबाबमा नेपाल छ ।