'इ-सिम सेवा' अब नेपाल टेलिकमको 'एप र वेबसाइट' बाटै
काठमाडौं, २२ माघ । नेपाल टेलिकमको इ–सिम अब एप र वेबसाइटबाटै उपलब्ध हुने भएको छ । टेलिकमले आजबाट इ–सिम सेवा उपलब्ध गराएको जनाएको छ ।
टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले कम्पनीको २१ औं वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा शुभारम्भ गरेको बताइन् । टेलिकमका अनुसार, अहिलेसम्म ग्राहकहरूले इ–सिम लिनका लागि काउन्टरमा जानुपर्ने बाध्यता थियो । अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकम एप र वेबसाइटमार्फत् सहजै प्राप्त गर्न सक्ने भएका छन् ।
इ–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।
यसका लागि इ–सिम सपोर्ट गर्ने ह्यान्डसेट भने आवश्यक हुन्छ । इ–सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।
यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
यसकासाथै, टेलिकमले आजैबाट भोवाईफाई सेवाको पनि व्यावसायिक सुरुवात गरेको जानकारी दिएको छ । यस प्रविधिमार्फत यस प्रविधि भोवाईफाई सपोर्ट गर्ने र भोल्ट सेवा सुरुवात गरिएका जुनसुकै मोबाइल फोनबाट देश तथा बाहिरबाट पनि वाईफाई नेटवर्कमार्फत् टेलिकमको मोबाइल नम्बरबाट भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।