महिला टी-२० आई सिरिज : लगातार चौथो हारसँगै उपाधि होडबाट बाहिरियो नेपाल
काठमाडौं, २२ माघ । काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले लगातार चौथो हार ब्यहोरेको छ ।
मंगलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो । हारसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ । अपराजित थाइल्याण्डको भने उपाधि जित्ने सम्भावना बलियो बनेको छ ।
थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । कविता जोशी २० बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन बनाउँदै आउट हुँदा रोमा थापा रनमा १९ नट आउट रहिन् ।
थाइल्याण्डका लागि थिपाथ्चा पूथावोङले सार्वधिक ४ विकेट तथा फनिता मायाले २ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको हो ।
थाइल्याण्डका लागि चानिदा सुथिरुआङले सर्वाधिक २७ रन बनाइन् । यस्तै, थिपात्चा पुत्थावाङले २५ र नानपाट कोन्चिारोइन्काइले १९ रन बनाए । ओपनरद्वय अफिसारा सुवान्चोन्राथीले १७ र नाताया बुचाथामले १० रन थपे ।
नेपालका लागि मनिषा उपाध्यायले सर्वाधिक ३ विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले एक मेडनसहित १८ रन खर्चिइन् । यस्तै, पूजा महतो र यसै खेलबाट डेब्यु गरेकी रचनाकुमारी चौधरीले समान १ विकेट लिए ।
नेपाल पछिल्ला तीनवटै खेलमा पराजित भएको थियो । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपाललाई यस खेल जित्नैपर्ने दबाब थियो ।
अब नेपालले बाँकी दुवै खेल जितेपनि उपाधिका लागि पर्याप्त हुनेछैन । नेपालले अब बुधबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
सिरिजमा सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने छन् । तीन देश सहभागी सिरिजको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।