गरिमा र महालक्ष्मी विकास बैंक पनि ई कमर्स कार्ड कारोबारका लागि एनसीएचएलमा आबद्ध
काठमाडौं, २२ माघ । गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्डमार्फत हुने ई कमर्स कारोबारलाई सुरक्षित बनाउन नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को 'इएफटि सर्भिस' मा आबद्ध भई 'थ्री डी सेक्युर एसीएस' सेवा सुरु गरेका छन्।
यस सेवाको शुरुवातपछि गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकका कार्ड होल्डरहरूले सुरक्षित तरिकाले अनलाइन ई–कमर्स कारोबार गर्न सक्नेछन्। सेवा प्रयोग गर्नका लागि कार्ड होल्डरहरूले आफ्नो कार्डमा एकपटक उक्त सुविधा सक्रिय गर्नुपर्नेछ। ई–कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेशन गर्न र ग्राहकले अथेन्टिकेट गर्न 'थ्री डी सेक्युर एसीएस' सोलुसनलाई अत्यन्तै सुरक्षित माध्यम मानिन्छ।
यस सेवाले बढ्दो ई–कमर्स कारोबारलाई थप सुरक्षित बनाउने र ग्राहकलाई डिजिटल कारोबारप्रति प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।
एनसीएचएलले इएफटि सेवा अन्तर्गत एसीएस कार्ड जारी गर्ने, कारोबार व्यवस्थापन गर्ने, ई–कमर्स गेटवे उपलब्ध गराउने, कार्ड भेरिफिकेशन सेवा लगायतका विभिन्न कार्ड सम्बन्धी सेवा आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्दै आएको छ।
हाल यस सेवामा गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंकसहित सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक, शंग्रिला विकास बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन्।
गरिमा विकास बैंकले १ लाख ७५ हजारभन्दा बढी कार्ड तथा ५० वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ भने महालक्ष्मी विकास बैंकले १ लाख ३५ हजारभन्दा बढी कार्ड तथा ४९ वटा एटीएममार्फत ग्राहकलाई सुविधा दिँदै आएको छ।