संसद् बैठकमा अनिवार्य उपस्थिति हुन सांसदहरूलाई निर्देशन
काठमाडौं, २३ माघ । बिहीबार राष्ट्रिय सभाको बैठकमा अनिवार्य उपस्थितिका लागि राजनीतिक दलहरूले आफ्ना सांसदलाई निर्देश गरेका छन् ।
राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्ष दुवैतिर उस्तै संख्या छ । यस्तो अवस्थामा अध्यादेशहरू निर्णयार्थ पेस गर्न लागिएकाले दलहरूले आ-आफ्ना दलका सांसदलाई सभाको बैठकमा अनिवार्य उपस्थिति हुन निर्देश गरेका हुन् ।
राष्ट्रिय सभामा रहेका दलका प्रमुख सचेतक र सचेतकले म्यासेज र टेलिफोनबाटै सांसदहरूलाई काठमाडौं भए नछाड्न र बाहिर भए बुधबार बेलुकीसम्म आइसक्न भनेका छन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेस (१६), नेकपा एमाले (१०) र लोकतान्त्रिक समाजवादी पार्टी (१) गरेर सत्तापक्षतर्फ २७ जना सांसद छन् । मनोनीत सांसद डा. अन्जान शाक्य नेकपा एमाले समर्थित हुन् । उनलाई जोड्दा सत्तापक्षको सांसद संख्या २८ पुग्छ । अर्का मनोनित सांसद बामदेव गौतमले पनि अध्यादेश स्वीकृतिका लागि मत दिँदा २९ पुग्छ ।
विपक्षमा पनि उस्तै मत छ । माओवादी केन्द्र (१७), नेकपा एकीकृत समाजवादी (८) र राष्ट्रिय जनमोर्चा (१) गरेर २६ जना सांसद विपक्षी मोर्चामा छन् ।
राष्ट्रिय सभामा तीन जना सांसद रहेको जनता समाजवादी पार्टी नेपाल भने निर्णयमा पुगिसकेको छैन ।
राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्यादेशको अध्ययन गरिरहेको छ । जसपा नेपालको संसदीय दलको बैठक बिहीबार बिहान बस्दैछ । उक्त बैठकबाट निर्णय लिइने जसपा नेपालका नेताहरू बताउँछन् ।