बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी
![बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी](https://snowberry.prixacdn.net/media/gallery_folder/sushildev-subedi2025-02-06-08-10-32_9nBtiE2ju6_hb9errrgk1ch7b9wmdu4l382xk6t0ibtysooppktx31zjmyr3tgifkovethg_jtE08x4niy_8e27bhh4o3z3sxosoxah6dp6uxglf5lgghyaywykxap8walikbopqcgtyyix.jpeg)
काठमाडौं, २४ माघ । नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी बढुवा भएका छन् । बुधबार बसेको प्राधिकरणको पदपूर्ति समितिको बैठकले हालका निर्देशक सुवेदीलाई कार्यकारी निर्देशकमा बढुवा गर्ने निर्णय गरेको हो ।
अब प्राधिकरणको बोर्ड बैठकले उनलाई कार्यकारी निर्देशकको नियुक्ति दिनेछ ।
प्राधिकरणले आन्तरिक प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक नियुक्ति गर्ने गरी १९ पुसमा प्रस्ताव आह्वान गरेको थियो । त्यसमा प्राधिकरणका निर्देशक सुवेदीसहित पूजन ढुंगेल अधिकारी र कमलप्रसाद रेग्मीले प्रस्ताव पेस गरेका थिए । त्यसमा समितिले सुवेदीलाई कार्यकारी निर्देशकमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्राधिकरणको कार्यकारी निर्देशक कर्मचारीतर्फ सबैभन्दा उच्च पद हो । पूर्वकार्यकारी निर्देशक राजुरमण पौडेलको कार्यकाल सकिएपछि ११ जेठदेखि उक्त पद रिक्त थियो । त्यसको आठ महिनापछि प्राधिकरणले कार्यकारी निर्देशक पाउन लागेको हो ।