बिहीबार २४ माघ, २०८१

२७ औं वर्षमा सिद्धार्थ हस्पिटालिटी, विदेशमा सेवा विस्तारको लक्ष्य

२७ औं वर्षमा सिद्धार्थ हस्पिटालिटी, विदेशमा सेवा विस्तारको लक्ष्य

रुपन्देही, २४ माघ । नेपालको चेन हस्पिटालिटीमा अग्रणी सिद्धार्थ हस्पिटालिटी २७ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९९८ मा कैलालीको टीकापुरमा सामान्य होटलबाट सुरु भएको कम्पनीको यात्रा यति बेला मुलुकभर फैलिएको छ ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले मुलुकको पर्यटन प्रवद्र्धन गर्दै सिद्धार्थलाई देशव्यापी बनाउने योजनाका साथ सिद्धार्थ ग्रुपले ‘भिजन २०३०’ मा काम गरिरहेको बताए ।

उनले सन् २०३० सम्म स्वदेश तथा विदेशमा समेत गरी कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको पनि जानकारी दिए । ‘हाल हामी नेपालका विभिन्न स्थानका साथै भारतमा समेत होटल सञ्चालनको तयारी गरिरहेका छौँ, त्यसपछि अन्य देशमा पनि सेवा विस्तार गर्ने योजना छ’, उनले भने ।

सिद्धार्थ हस्पिटालिटी पछिल्लो वर्षमा आतिथ्यताको क्षेत्रमा गुणस्तरीयताको पर्याय बनेको छ । जसलाई गत वर्ष प्राप्त विभिन्न सम्मानले पुष्टि गर्ने कम्पनीको भनाइ छ ।

गत वर्ष मात्रै पृथ्वी राजमार्गको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले दक्षिण एसियाली ट्राभल अवार्ड ९साटा०बाट उत्कृष्ट रिभर साइड रिसोर्टको अवार्डबाट सम्मानित भएको थियो । साथै बौद्धस्थित सिद्धार्थ बुटिक होटलले उत्कृष्ट बुटिक होटलका रुपमा साटा अवार्ड प्राप्त गरेको थियो ।

सुर्खेतस्थित सिद्धार्थ रिसोर्टले कर्णाली प्रदेश सरकारबाट उत्कृष्ट एचआर प्राक्टिस ९मानव संसाधन अभ्यास० अवार्ड प्राप्त गरेको थियो । त्यस्तै विभिन्न आउलेटहरु उत्कृष्ट सेवा र आतिथ्यताका लागि ट्राभलर च्वाइस अवार्डबाट समेत सम्मानित भएका थिए ।

सिद्धार्थले लुम्बिनी विश्वविद्यालयसँगको सहकार्यमा ब्याचलर इन हस्पिटालिटीमा अध्ययनरत विद्यार्थीलाई सीप सिक्दै पढ्दै अभियान सुरु गरेको छ । साथै सिद्धार्थले सुर्खेतको होटलबाट कर्णालीमा उत्पादन हुने अग्र्यानिक खाद्यान्न पनि प्रवद्र्धनमा जोड दिँदै आएको छ ।

विदेशमा सेवा विस्तारको योजना

मुलुकका विभिन्न स्थानमा सेवा विस्तार गरिरहेको सिद्धार्थ हस्पिटालिटीले अब चाँडै भारतमा पनि सेवा विस्तार गर्दैछ । त्यति मात्रै होइन, धनगढीमा पाँचतारे होटलको योजना अगाडि बढाएको छ ।

सिद्धार्थले बुटवलको योगीकुटीमा सिद्धार्थ कटेज सञ्चालन गरेको छ, जसमा वाटर पार्क र यस क्षेत्रकै उत्कृष्ट सभा हल समेत निर्माण हुँदैछ। हाल रेष्टुरेन्टको काम पूरा भइ सञ्चालनमा आइसकेको छ भने आगामी असारसम्ममा बाँकी काम पूरा हुने जनाइएको छ ।

कम्पनीले धनगढीमै पनि सिद्धार्थ कटेज निर्माण गरिरहेको छ । पाहुनाहरूलाई शान्त वातावरण खुला बगैचा, आधुनिक सुविधासहित रेस्टुरेन्ट र वाटर पार्क साथै यस क्षेत्रकै उत्कृष्ट सभा हल समेत निर्माण हुँदैछ ।

साथै पर्यटकीय गन्तव्य इलाममा पनि कम्पनीको लग्जरी रिसोर्ट निर्माणको योजना बनाएको छ । रिसोर्टमा चियाबगानको दृश्य हेर्न पाइने भिल्ला, अग्र्यानिक फार्म–टु–टेबल भोजन, वेलनेस कार्यक्रमहरू र संस्कृतिक अनुभवहरू समावेश हुनेछन् ।

हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका विभिन्न आउटलेटमा दुई हजार ५०० भन्दाबढी प्रत्यक्ष कर्मचारी कार्यरत छन् । आतिथ्यको क्षेत्रमा सबैभन्दा बढी रोजगारी दिने समूहमध्ये सिद्धार्थ होस्पिटालिटी पनि एक हो ।

कम्पनीले हाल पाँच तारे होटल स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डमा होटल सञ्चालनमा छन् । त्यसबाहेक सिद्धार्थ कटेज, सिद्धार्थ क्याफेका साथै पछिल्लो समय कम्पनीअन्तर्गत एस होटल सञ्चालनको तयारी भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म सेवा प्रवाह गरिरहेको कम्पनीले आफ्नै होटल सञ्चालनका साथै अन्य होटल व्यवस्थापन गरिरहेको छ ।

समुदायमा सिद्धार्थ

विगतमा जस्तै सिद्धार्थ हस्पिटालिटीले २७औँ वार्षिकोत्सवका अवसरमा समुदायको संलग्नतामा विभिन्न कार्यक्रम आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत क्याफेदेखि पाँच तारेसम्म सबै आउटलेटले स्वास्थ्य, सरसफाइ, वातावरण र सामाजिक सहयोगसम्बन्धी क्षेत्रमा देशब्यापी कार्यक्रम सम्पन्न गरेका छन् ।