बिहीबार २४ माघ, २०८१

उपेन्द्रले मागे ओली–देउवासँग मधेशको मुख्यमन्त्री

उपेन्द्रले मागे ओली–देउवासँग मधेशको मुख्यमन्त्री

काठमाडौं, २४ माघ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले मधेश प्रदेशको मुख्यमन्त्री पाउने शर्तमा अध्यादेशलाई समर्थन गर्ने प्रस्ताव राखेको छ ।

उपेन्द्रलाई मधेशको मुख्यमन्त्री दिनेगरी अध्यादेशमा मत दिने मोटामोटी सहमति बनिसकेको नेपाली कांग्रेसका एक शीर्ष नेताले दिए । ‘सभापति देउवा र प्रधानमन्त्री ओली छलफल गरेर कहाँ के गर्ने टुंगिन्छ,’ कांग्रेसका एक शीर्ष नेताले भने, ‘मधेशको मुख्यमन्त्रीमा उहाँहरूको चासो छ । त्यही पद मिलाउनेतिर सकारात्मक छलफल छ ।’

बिहीबार संघीय संसद्का दुवै सदनबाट सरकारले ल्याएका ६ वटा अध्यादेश पारित गर्ने कार्यसूची बनेको छ । प्रतिनिधिसभाबाट सहजै अध्यादेश पारित हुने भए पनि राष्ट्रिय सभामा उपेन्द्र नेतृत्वको जसपा नेपाल निर्णायक भूमिकामा देखिएको छ ।

जसपा नेपाललाई फकाउन सत्ता र प्रतिपक्ष दुवैतर्फका नेताहरू लागिपरेका थिए । बिहीबार बिहान अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितसँग छलफल गरेका थिए ।

उक्त छलफलमा उपेन्द्रले मधेशको मुख्यमन्त्री आफ्नो दलले पाउनेगरी अध्यादेशमा सहमति दिने शर्त अघि सारेका थिए । जसपा नेपालको संसदीय दलको बैठक जारी छ । सोही बैठकबाट छलफल गरेर अध्यादेशको समर्थनमा जाने निर्णय लिने बताइएको छ ।

जसपा कार्यदलले अध्यादेश अध्ययन प्रतिवेदन बुझायो पार्टीलाई

जनता समाजवादी पार्टी (जसपा) नेपालले गठन गरेको अध्यादेश अध्ययन कार्यदलले पार्टीलाई प्रतिवेदन बुझाएको छ । पार्टी उपाध्यक्ष राजकिशोर यादव संयोजक रहेको कार्यदलले बिहीबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई अध्यादेशबारेको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उल्लेख भएका कुराहरु भने अहिले बताउन नमिल्ने जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।