ओलम्पिक कमिटीको निर्वाचन अवैध भएको राखेपको ठहर
![ओलम्पिक कमिटीको निर्वाचन अवैध भएको राखेपको ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/noc_BCjTkH3JoD_injrogaa7rcokkqlibkw21gxlrmzn4qrbwjqbamxcfz7z0xluuyzrdrnce7d_gF1LZg7fzR_ybtuqqzg0stof6ffvew1mtxuycrvbmtp4tv4otturaolb6n9aoovfcyxszfb.jpg)
काठमाडौं, २४ माघ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी समितिको ३३औं बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव अवैध भएको ठहर गरेको छ । एनओसी निर्वाचन कानुनसम्मत मान्न नसकिने ठहर गर्दै कारवाही प्रक्रिया अगाडि बढाएको हो ।
अदालतको आदेशविपरीत विद्युतीय माध्यमबाट निर्वाचन गरेको भनिएको नेपाल ओलम्पिक कमिटिको कुनै पनि बैठक लगायतका काम कारबाहीमा अवैधानिक रुपमा निर्वाचनमा सहभागी राष्ट्रिय खेल संघ र महासंघहरुलाई सहभागी नगर्न र नगराउन राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्ने निर्णय भएको राखेपले जानकारी दिएको छ ।
त्यस्तै, अदालतबाट भएको अन्तरिम आदेश कार्यान्वयनका लागि पटक पटक परिषद्बाट जारी भएको निर्देशनको उल्लंघन गरी गरिएको निर्वाचनसम्बन्धी प्रक्रियालाई कानुनसम्मत मान्न नसकिने जनाएको छ ।
राखेपले नेपाल ओलम्पिक कमिटिको बैंक खाता रोक्का, वैदेशिक सहभागिता एवं अन्य कार्यक्रममा सहभागितामा रोक्का र भौतिक सम्पत्तिको अनधिकृत रुपमा उपयोगमा रोक्काको लागि सम्बन्धित नियामक निकायहरुमा पत्राचार गर्ने निर्णय गरेको हो ।