पूर्वाधारमन्त्री दाहालसँग भारतीय राजदूत श्रीवास्तवको भेट
काठमाडौं, २४ माघ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो।
भेटमा राजदूत श्रीवास्तवले नेपाल-भारत रेल मार्गका चासो राखेका थिए। उनले रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम तथा प्रशिक्षण उपलब्ध गराउन भारत तयार रहेको समेत उल्लेख गरे।
यस्तै मन्त्री दाहालले नेपालको रेलवे तथा विकासका अन्य क्षेत्रमा भारतले पुर्याएको योगदानको प्रशंसा गरे। आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्नेसमते उनले उल्लेख गरे।
भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालयसँग सरोकार राख्ने विषयमा दुई देशका अधिकारीहरुबीच छिट्टै बैठक बस्ने विश्वास व्यक्त गरे।
सो भेटमा रेल विभागका महानिर्देशक अजयकुमार मुल, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका प्रमुख सुशीलबाबु ढकाल, अन्य सहसचिवहरु लगायतका अधिकारीहरु सहभागी थिए।