बिहीबार २४ माघ, २०८१

एलपी ग्यास उद्योग संघले घोषणा गर्‍यो आन्दोलन

एलपी ग्यास उद्योग संघले घोषणा गर्‍यो आन्दोलन

काठमाडौं, २४ माघ । नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बिहीबार संघले ललितपुरमा पत्रकार सम्मेलन गर्दै १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष शिव घिमिरेले नेपालमा ५९ उद्योगहरु सञ्चालन रहेको बताए। उनले नेपालमा विस्फोटक ऐन कानुन र नियमन निकाय नहुँदा भारतको ऐन नियमअनुसार भारतबाटै इजाजत लिई उद्योग सञ्चालन गर्नुपरेको बताए।

उनले नेपाली ढुवानी साधन नहुँदा वार्षिक खर्बौं रुपैयाँ विदेशिएको बताए। उनले एकतर्फी ढंगबाट लगानीको सरक्षणको सट्टा निरुत्साहित गर्ने सरकारको रणनीति रही रहेमा उद्योग संचालनलाई निरन्तरता दिन नसक्ने बताए।

उनले संघले माघ ३० गते बुधबारदेखि देशभरका ५९ वटै एलपी ग्यास उद्योगहरुले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (पिडिओ) खरिद नगर्ने नगराउने बताए। उनले फाल्गुण १ गते बिहीबारदेखि २०८१ फाल्गुन ५ गते सोमबारसम्म सबै ग्यास उद्योगहरुले विरोधका कार्यक्रमहरूबारे स्थानीय सबै संघ संस्था सञ्चार माध्यमहरूमार्फत र केन्द्रमा नेपाल एलपी ग्यास उद्योग संघले प्रचारप्रसार गर्ने बताए।

उनले फाल्गुण ६ गते मंगलबारदेखि भारतको इण्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्यासको ग्यास बुलेट कुनै पनि लोड नगर्ने नगराउने उल्लेख गरे। उनले फाल्गुन १२ गते सोमबारदेखि नेपालका लागि लोड भएर आएका कुनै पनि ग्यास बुलेटहरू कुनैपनि भन्सार नाका बाट नछुटाउने उल्लेख गरे।

उनले  फागुन १८ गते आइतबारदेखि सबै नेपालका ५९ उद्योगहरू जायज मागहरु सम्बोधन नभएमा अनिश्चितकालीन बन्द गर्ने घोषणा गरे। उनले फाल्गुन २२ गते शनिबारदेखि देश भरका ग्यास बिक्रेता डिपोहरुले सम्पूर्ण बन्द गरिदिन अनुरोध गर्ने बताए।

उनले नेपाल सरकारले ग्यास प्रयोगको सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने माग गरे। एलपी ग्यास दुर्घटना रोक्न, कमसल पाइप तथा रेगुलेटर प्रयोगमा कडाइ गर्न, र सुरक्षासम्बन्धी नियम पालना गराउन कानुनी व्यवस्था लागू गरिनुपर्ने माग राखे।

विगत ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि नभएकोले तत्कालै वृद्धि हुनुपर्ने र हरेक वर्ष मुद्रास्फिति दरअनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ।