थाइल्याण्डविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौं, २५ माघ । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत केहिबेरमा हुने सिरिजको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरु हुने खेलमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।
आज हुने खेलमा नेपाल सान्तवना जितको खोजीमा हुनेछ । यसअघिको सबै पाँच खेलमा हार बेहोरेको नेपाल आजको खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित हुँदै सिरिजको शूरुवात गरेको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग ४ विकेट, तेस्रो खेलमा नेदरल्यान्ड्ससँग १५ रन, चौथो खेलमा थाइल्याण्डसँग ५ रन र पाँचौं खेलमा नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको थियो ।
हालसम्म थाइल्याण्डलाई हराउन नसकेको नेपाल आज इतिहास रच्ने अवसरपनि रहेको छ । यता थाइल्याण्ड भने पाँच खेलबाट चार जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । आजको खेल जितेको खण्डमा थाइल्याण्डले सिरिज उचाल्नेछ भने फराकिलो हार बेहोरेको खण्डमा नेदरल्यान्ड्सको सम्भावना बन्नेछ । हाल नेदरल्यान्ड्स ६ खेलबाट ८ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।