नबिल बैंकको ‘स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रम प्रभावकारी बन्दै
![नबिल बैंकको ‘स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रम प्रभावकारी बन्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/nabil2025-02-07-08-49-30_nOsaQoT1ik_iaqdb63a3ecbwavncwbaq8pgex5g2qpzclnynoopvlip9cuwgpqzusc1khvm_AzNsJKc0Bm_lwg23uzeeh17rvxokne2eac0i0eky7rlimvu6yi49hnh4l1jtseyh9xyubja.jpeg)
काठमाडौं, २५ माघ । नबिल बैंक लिमिटेडको ‘स्कुल अफ सोसल अन्टरप्रेनरसिप’ (एसएसई) कार्यक्रमले उद्यमशीलता विकासमा सहयोग पुगेको सरोकारवालाले बताएका छन् । नबिल बैंक र त्रिभुवन विश्वविद्यालयले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘सेलिब्रेटिङ फेसोसिप, जोर्नी अफ इम्पाक्ट २०८१’ मा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् ।
नबिलले त्रिभुवन विश्वविद्यालयसँग सम्झौता गरी सन् ०२१ देखि यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ । विशेष गरी यो कार्यक्रम दुईवटा पक्षमा केन्द्रित छ । त्यसमा व्यक्तिलाई फेलोसिपमार्फत उद्यमी बनाइन्छ । अर्को, ‘सर्टिफिकेट कोर्स’ सयौँलाई तालिम र रोजगारी प्रदान गरिन्छ ।
नबिलले सामाजिक उत्तरदायित्वअन्तर्गत युवाहरूलाई उद्यमी बनाउन ‘फेलो’ प्रदान गर्दै आएको छ । हालसम्म चारवटा ब्याचबाट ५६ जनालाई फेलो प्रदान गरिसकेको छ । त्यसबाट विभिन्न स्थानमा ४५ वटा उद्यम–व्यवसाय स्थापना भएका छन् । यसैगरी, १२ सयभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको छ । यस्तै, हालसम्म पाँच सय १८ जनाले ‘सर्टिफिकेट कोर्स’ पूरा गरेका छन् । २२६ जनाले नयाँ भर्ना लिएका छन् ।
नबिलको यो कार्यक्रम निकै प्रभावकारी भएको कार्यक्रममा बोल्ने बक्ताहरूले बताए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। केशरजंग बरालले नयाँ अवसर खोजी पनि यो कार्यक्रम प्रभावकारी भएको बताए ।
यस्तै, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा।डा। खड्ग केसीले यो कार्यक्रमले उद्यमशीलता विकासमा सहयोग पुगेको बताए । फेलो प्राप्त व्यक्तिहरूलाई उनले सफलताको शुभकामना पनि दिए ।
यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरिने रकमलाई प्रभावकारी बनाउन यो कार्यक्रम अघि बढाएको बताए । ‘यसअन्तर्गत गरिने खर्चलाई प्रभावकारी बनाउन यो कार्यक्रम गरेका हौँ । यो भारतमा निकै सफल छ, त्यसलाई नेपालमा पनि प्रचलनमा ल्याएका हौँ, जुन सफल हुँदै गएको छ,’ उनले भने, ‘आगामी दिनमा यसलाई अझै प्रभावकारी बनाउँदै लैजानेछौँ ।’ यो कार्यक्रम सफल हुन नबिल बैंकको मात्रै नभएर त्रिभुवन विश्वविद्यालयको पनि ठुलो योगदान रहेको उनको भनाइ छ ।
यस्तै, बैंकका सिनियर डेपुटी सिइओ मनोज ज्ञवालीले यसले युवाहरूको बढ्दो विदेश पलायनलाई नियन्त्रण गर्ने बताए । नबिल बैंकका निर्देशक निर्वाण चौधरीले युवाहरूलाई उद्यमी बनाउने मात्र नभएर स्वरोजगार बनाउनुपर्ने पनि बताए । साथै, उद्यममार्फत देशको अर्थतन्त्रको विकासमा नबिल बैंकले योगदान गरिरहेको उनको भनाइ छ । ‘यसले सम्बन्धित व्यक्तिलाई उद्यमी मात्रै बनाउँदैन । देशको अर्थतन्त्रलाई पनि महत्वपूर्ण योगदान पुर्याउँछ,’ उनले भने, ‘यसलाई थप प्रभावकारी बनाउन हामी प्रयत्नशील छौँ ।’
कार्यक्रममा फेलो तथा तालिमप्राप्त उद्यमीहरूको उत्पादन तथा सेवा प्रदर्शन गरिएको थियो । यसैगरी, मेन्टरहरूलाई सम्मान पनि गरिएको थियो ।
नबिल बैंकले यो फेलोसिप कार्यक्रमका लागि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायसँग साझेदारी गरेको छ । यो ६ महिना लामो कार्यक्रम हो, जसमा प्रत्येक महिनाको तीन दिन आवासी तालिमको व्यवस्था छ । यो सुविधाका लागि बैंकले पहिला आवेदन माग गर्छ । आवेदनको मूल्यांकन र अन्तर्वार्ता पछि छनोट गरिन्छ ।