जनप्रतिनिधिले जनतालाई अनावश्यक दुःख दिने काम अन्त्य गर्नुपर्छ: उपप्रधानमन्त्री सिंह
![जनप्रतिनिधिले जनतालाई अनावश्यक दुःख दिने काम अन्त्य गर्नुपर्छ: उपप्रधानमन्त्री सिंह](https://snowberry.prixacdn.net/media/gallery_folder/Prakashman-Singh-_LmtwYq2AUI_ljq6lb5k2i6tukwnccdjjniunjcm5iibusyz5uup2mdvqiy84rrdfowyjh1v_NgSbJgm2V4_zwuiaakisxtdfpegfyrjgxf0untlk1q24qgxg59jyq8gtlij5t4pie15rr9b.jpg)
काठमाडौं, २५ माघ। उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिबाट अनावश्यक रुपमा जनतालाई दुःख दिने कामको अन्त्य हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौं महानगरपालिका वडा नं २९ को प्रशासनिक भवन उद्घाटन समारोहमा उनले जनप्रतिनिधिले जनताको गुनासो सुनेर त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेतिर नै जोड दिएर लाग्नुपर्ने बताए ।
सिंहले भने, ‘सबैभन्दा बढी जनताले के खोजिरहेका छन् । जनताले समस्या राखिसकेपछि त हुनसक्ने काम त गर्दिनपर्छ नि । भोलि, आउनुहोस, पर्सि आउनुहोस भन्ने गरिन्छ । स्पष्ट भनिदिनुपर्छ, अनावश्यक दुःख दिन पाइँदैन् । यसको अन्त्य हुनुपर्छ । जनप्रतिनिधिले जनताको गुनासो सम्बोधन गर्ने भन्नेतिर नै लाग्नुपर्छ भन्ने कुरामा जोडदिन्छु ।’
त्यस्तै, उनले सरकारप्रति प्रश्न धेरै उठ्ने गरेको भन्दै स्थायी सरकार बनाउने उद्देश्यले बर्तमान सरकार निर्माण भएको बताए ।
सिंहले भने,‘सबैले सरकारबारे प्रश्न गरेका छन् । कांग्रेस र एमालेले अरु पार्टीलाई पनि मिलाएर अहिले जुन सरकार बनेको छ त्यो जनताको चाहना हो । शान्ति प्रकृयामा पनि कांग्रेसले नै नेतृत्व गरेको हो नि ।
मन्त्री सिंहले वडाको भवन आफ्नै वडामा बन्नुपर्छ भन्दा विवाद गर्नुपर्ने अवस्था आएको स्मरण गर्दै नेपालमा नराम्रो काम गर्नभन्दा राम्रो काम गर्नको लागि धेरै अप्ठ्यारो रहेको बताए ।