यो साता सेयर बजार ४२ अंकले वृद्धि, यी हुन् मूल्य धेरै बढेका कम्पनी
काठमाडौँ, २५ माघ । यो साता सेयर बजार १.५ प्रतिशत अर्थात् ४२ अंक बढेको छ। गत साता २६५७ मा बन्द भएको बजार यो साता २६९९ अंकमा पुग्यो। यो साता पाँचै दिन कारोबार भयो।
पहिलो दिन आइतबार ६९.८० अंक बढेको बजार सोमबार थप २.४१ अंक बढ्यो। त्यसपछिका तीन दिन लगातार घट्यो। मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४ अंक घट्यो। समग्रमा यो साता बजारले वृद्धिलाई निरन्तरता दियो। गत साता जम्मा ३ अंक बजार बढेको थियो।
यो साता आइतबार १२ अर्ब ९५ करोडको कारोबार भयो। जुन कारोबार रकम भदौयताकै उच्च हो। त्यसपछि बजार सुस्ताउँदा कारोबार रकम पनि बढ्न सकेन। सोमबार ११ अर्ब ८७ करोड, मंगलबार ८ अर्ब ९१ करोड, बुधबार ८ अर्ब ९५ करोड र बिहीबार ९ अर्ब २४ करोडको कारोबार भयो।
फाइनान्समा उत्साह :
यो साता फाइनान्स सेक्टर सबैभन्दा धेरै ५.७ प्रतिशत बढेको छ। गत साता यो सेक्टर ०.३९ प्रतिशत बढेको थियो। फाइनान्स सेक्टर लामो समय घटेका कारण लगानीकर्ता पछिल्लो पटक आकर्षित देखिएका छन्। बजारमा १५ वटा फाइनान्स कम्पनी सूचीकृत छन्।
‘लोक्याप’ फाइनान्स कम्पनीको मूल्य उच्च दरले घटेपछि फेरि बढ्ने आशले यतिबेला तिनै कम्पनीमा आकर्षण देखिएको छ। तर फाइनान्स सेक्टरका अधिकांश कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरण भने कमजोर छ।
उच्च कारोबर भएका कम्पनी :
यो साता रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन पावर पार्टनर, सप्तकोशी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स, सिन्धु विकास बैंक, साहस ऊर्जा, सामलिङ पावर, हिमालय ऊर्जा विकास कम्पनी र बरुण हाइड्रोपावर क्रमशः अगाडि रहे।
कारोबार संख्याका आधारमा भने हिमालयन रिइन्स्योरेन्स, हिमालय ऊर्जा विकास कम्पनी, साहस ऊर्जा, न्यादी हाइड्रोपावर, निफ्रा, सामलिङ पावर, बरुण हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, रिभरफल्स पावर र सिटिजन्स लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे।