शुक्रबार २५ माघ, २०८१

दलित समुदायको विशेषाधिकारलाई सबै क्षेत्रमा दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ : प्रचण्ड

दलित समुदायको विशेषाधिकारलाई सबै क्षेत्रमा दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ : प्रचण्ड

काठमाडौं, २५ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकारको व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताएका छन्। नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो धारणा राखेका हुन्।

दलित समुदायमाथिका छुवाछुत र जातीय विभेदजस्ता अमानवीय र निकृष्ट व्यवहार वर्गीय र राजनीतिक समस्या भएको उल्लेख गर्दै उनले यसलाई राजनीतिक रूपमा नै हल गर्न विशेषाधिकारको नीति आवश्यक रहेको बताए।

जनयुद्धसहित नेपालमा चलेका तमाम आन्दोलनमा दलित समुदायको विशेष भूमिका रहेको उल्लेख गर्दै प्रचण्डले जनयुद्धमा प्रथम सहिद दिलबहादुर रम्तेल भएको घटनाले पनि आजको राजनीतिक परिवर्तनमा दलित समुदायको योगदान पुष्टि गर्ने बताए।

पार्टी शान्तिकालमा आइसकेपछि आफ्नो वर्ग र समुदायका एजेन्डालाई दृढतापूर्वक अघि बढाउन केही कमजोरी भएको स्वीकार गर्दै अध्यक्ष प्रचण्डले अब यसलाई दृढताका साथ अघि बढाउनुर्छ भनेर भर्खरे सम्पन्न केन्द्रीय समिति बैठकबाट दलित समुदायको विशेषाधिकारसम्बन्धी विशेष प्रस्ताव नै पारित गरेको जानकारी दिए।

उत्पीडित वर्ग र समुदायको हितमा पार्टीले विशेषाधिकारको नीतिअनुरूप नै पार्टीको संगठन र संरचनामा समेत दलित नेतृत्वको विकासमा जोड दिँदै आइरहेको उल्लेख गर्दै उनले पार्टीले गहिरो आत्मसमीक्षासहित विशेषाधिकारसम्बन्धी आफ्नो स्पष्ट नीतिलाई सडक, सदन र सरकार तीनवटै मोर्चाबाट दृढतापूर्वका अगाडि बढाउने बताए।