शुक्रबार २५ माघ, २०८१

भारतबाट ९० हजार टन गहुँ आयात गर्न ५८ कम्पनी इच्छुक

भारतबाट ९० हजार टन गहुँ आयात गर्न ५८ कम्पनी इच्छुक

काठमाडौं, २५ माघ । भारतबाट गहुँ आयात गर्नको लागि ५८ वटा कम्पनीहरूले आवेदन दिएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले माघ १४ गते व्यापारिक प्रयोजनका लागि आवेदन खुलाएको थियो ।

विभागले ९० हजार टन गहुँको कोटा वितरण गर्ने निर्णय गरेको थियो, जसका लागि इच्छुक कम्पनीहरूले ७ दिनको समयसीमा भित्र आवेदन दिनुपर्ने थियो।

विभागका महानिर्देशक राजन पौडेलका अनुसार, “यस अवधिमा ५८ कम्पनीहरूले इच्छाएको देखाएका छन्। अब सबै प्रक्रिया पूरा गरेर फागुन पहिलो साताबाट गहुँ आयात सुरु हुने छ।”

विभागले प्रत्येक कम्पनीलाई न्यूनतम १ सय टन र अधिकतम १० हजार टन गहुँ आयात गर्ने अनुमति दिने बताएको छ। आयात गर्नका लागि इच्छुक कम्पनीको चुक्ता पुँजी कम्तिमा १ करोड रुपैयाँ हुनुपर्ने शर्त राखिएको छ।

गहुँ आयातको कोटा ९० हजार टन भए पनि, उद्योगको पुँजी र राजस्वका आधारमा आयातको अनुमति थप कडाइसँग वितरण गरिने विभागले स्पष्ट पारेको छ।

भारतले गहुँ निर्यातमा रोक लगाएको कारणले, नेपाललाई ५० हजार टन गहुँ आयात गर्ने अनुमति दिएको थियो, जसको माग अपुग भएपछि नेपालले ३ लाख टनको आवश्यकता जनाएको थियो। त्यसपछि भारतले २ लाख टन गहुँको अनुमति दिएको हो।