शुक्रबार २५ माघ, २०८१

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु

रुपन्देही, २५ माघ । बर्दियामा खेतमा घाँस काटिरहेकी एक महिलाले चितुवाको आक्रमणबाट ज्यान गुमाएकी छन् । मधुवन नगरपालिका वडा नं ७ ताराताल बस्ने ५१ वर्षीया जुनाकुमारी लामिछानेले चितुवाको आक्रमणमा परेर ज्यान गुमाउनुपरेको हो ।

भारतीय सीमा नजिकै आफ्नै खेतमा घाँस काटिरहेको अवस्थामा अवस्थामा लामिछानेलाई चितुवाले आक्रमण गरेको स्थानीयले बताएको त्यहाँस्थित पत्रकार यज्ञ सापकोटाले बताएका छन् ।

घाँस काटिरहेको अवस्थामा अचानक आक्रमण गर्दा उनको घाँटीमा चोट लागेको थियो । तत्काल उद्धार गरी उपचारका लागि बर्दिया अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्तिमगरले जनाएका छन्।

ताराताल क्षेत्र भारतको सीमा नजिक पर्दछ । भारतीय जङ्गल नजिकै भएकाले उतैबाट आएको हुनसक्ने आंकलन स्थानीयले गरेका छन् ।