काठमाडौं महानगरले गुन्डागर्दी प्रदर्शन गरिरहेको छ: सांसद प्रभु साह

काठमाडौं, २७ माघ । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले काठमाडौं महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद साहले काठमाडौंको टेकुमा कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला गरेर काठमाडौं महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका हुन् ।
‘आज ११ बजे टेकुको कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला भएको छ । कथित महानगरका प्रहरी भन्नेहरूको जत्थाले गम्भीर घाइते बनाएका छन् । म विशेष आग्रह गर्न चाहन्छु कानुन र अदालतको आदेश विपरीत जसरी काठमाडौं महानगरपालिकाले गुन्डागर्दी प्रस्तुत गरिरहेको छ । सरकार कानुन बहालीका लागि के सक्षम होइन रु सक्षम हो भने सबैको जीउधनको सुरक्षा गर्न सक्रियता देखाओस्,’ साहले भने ।
आइतबार टेकुमा कवाडी गोदाम हटाउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बललाई कवाड व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको महानगरको भनाइ छ । झडपमा ५ जना घाइते भएका छन् ।
नगर प्रहरी बलका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीले कवाडी व्यवसायीले बोत्तल प्रहार गरेको र आत्म सुरक्षा गर्ने क्रममा दोहोरो झडपको स्थिति आएको बताए ।