भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

भद्रपुर (झापा), २ फागुन । झापाको भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा ४४ करोड ५७ लाख ३७ हजार ४५१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेलका अनुसार ७ महिनामा १७ हजार ५६९ रजिष्ट्रेसन पारित भएका छन् ।
यसैगरी मृत्युपछिको नामसारी ५६७, घर कायम ५८७, हाल साबिक अद्यावधिक ९८९, दाखिला खारेज १७१, संशोधन ९१४, मोही बाँडफाँट ११, मोही नामसारी ९ र ३७० जनाको मोही लगत कट्टा भएको छ ।
प्रमुख पोखरेलले आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि हुन नसकेकाले त्यसको प्रभाव राजस्व सङ्कलनमा परेको बताए ।
उक्त कार्यालयले आव २०८०/८१ मा ८० करोड ५८ लाख १४ हजार ५९२ रुपैयाँ राजस्व सङ्कलन गर्दा ३६ हजार ८७५ थान रजिष्ट्रेसन पारित भएका थिए ।