भ्यालेन्टाइन डेमा कहाँ घुम्ने ? यी हुन् 'भ्यालेनटाइन डे'मा घुम्न जाने ठाउँहरु

काठमाडौं, २ फागुन । भ्यालेन्टाइन डे कसरी मनाउने सोचमा हुनुहुन्छ ? पक्कै पनि धेरैजसोको योजना कतै नयाँ ठाउँ घुम्न जाने र रमाइलो गर्ने नै होला । झन भ्यालेन्टाइन डेमा रमणीय स्थल घुमेर आनन्द लिनुको मजा बेग्लै हुन्छ । यस दिन अधिकांश व्यक्तिले घुम्नका लागि रमणीय र सुनसान स्थलहरु नै छनौट गर्छन । त्यस्ता रमणीय स्थलहरु काठमाडौं उपत्यका भित्र धेरै छन् ।
विशेषगरि जोडीहरुका निम्ती सुनसान र एकान्त पार्कहरु, हरियाली डाँडाहरु डेटिङ डेस्टिनेसन काठमाडौं भित्र र आसपासका क्षेत्रमा प्रशस्त छन् । त्यस्ता गन्तब्यहरुलाई आफ्नो सर्ट प्याकेजमा समेटन सकिन्छ । ‘सर्ट–ट्रिप’का लागी काठमाडौंबाट विहान गएर बेलुकी फर्कन सकिने वा एक–दुई रातको बसाइ गरेर फर्कने गन्तव्यहरु धेरै छन् ।
भ्यालेन्टाइनलाई रमाइलो र स्मरणयोग्य बनाउन पार्क मात्र पर्याप्त होइनन् । सर्ट ट्रेकिङ्ग अर्थात हाइकिङका रमाइला गन्तव्यहरुको आइटीनेरी बनाउन सकिन्छ । काठमाडौं उपत्यका आसपासका डाँडाहरु, एकान्त ऐतिहाँसिक स्थलहरु गन्तब्य बन्न सक्छन् ।
त्यसबाहेक रिसोर्टहरु पनि कतिपयले आफ्नो भ्यालेन्टाइन जक्सन बनाउनँछन । भ्यालेन्टाइनलाई स्मराणयोग्य बनाउन सानो बजेटमा धेरै रमाइलो गर्न सकिने स्थानहरु छनोट गर्न सकिन्छ । काठमाडौं लगायत देशभरका विभिन्न यस्ता स्थानहरु प्रशस्त छन् । जहाँ यसबर्षको भ्यालेन्टाइनलाई अविस्मरणीय बनाउन सकिन्छ ।
त्रिभुवन पार्क : भ्यालेन्टाइमा मात्र होइन बा¥हैकाल जोडीहरु पुग्ने स्थान हो त्रिभुवन पार्क । यो पार्क शान्त र हरियाली वातावरणमा भएकाले पिकनिकका लागि पनि प्रख्यात छ । कलंकीबाट करिब ६ किलोमिटर पश्चिममा रहेको पार्क प्रवेश गर्न विद्यार्थी र अन्यलाई फरक–फरक शुल्क निर्धारण गरिएको छ । पार्क सुनसान र रमणीय भएकाले जोडीहरुले भ्यालेन्टाइन स्पटका रुपमा छनौट गर्न सक्छन् ।
स्वप्न बगैचा : पर्यटकीय क्षेत्र ठमेलमा एउटा ऐतिहाँसक र सुविधासम्पन्न पार्क छ गार्डेन अफ ड्रिम अर्थात स्वप्न बगंैचा । यो उपत्यका भित्रको चर्चित डेटिङ स्पटमध्येको एक हो । सुन्दर र आकर्षक बस्ने ठाउँ, माछा पोखरी, बगैंचा, सुविधा सम्पन्न क्याफे रहेको बगैंचा केशरमहलसँगै रहेको छ । विदेशीहरुको रोजाइमा पर्ने बगैंचा नेपालीहरुको पनि उत्तिनै भीड लाग्छ । यो स्थान जोडीहरुका लागि उचित गन्तब्यमा पर्ने गर्छ । सामान्यतः यहाँ प्रवेश गर्न एकसय रुपैंया शुल्क निर्धारण गरिएको छ ।
सदर चिडियाखाना : जनावर तथा पंक्षीको अवलोकन मात्र होइन डेटिङका लागि ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना रोज्नेहरुको संख्या पनि धेरै छ । शितल र रमणीय स्थल भएकाले धेरै जोडीहरुले चिडियाखानालाई डेटिङको गन्तब्य बनाउने गरेका छन् । यहाँ रहेको पोखरी किनार र सँगै रहेका खलकुद स्थानहरुमा जोडी भुलिने गर्छन ।
पशुपति क्षेत्र : ‘पशुपतिको दर्शन सिद्राको व्यापार’ भने जस्तै हिन्दुहरुको पवित्र धार्मिक स्थल पशुपतिनाथ मन्दिर क्षेत्र पनि डेटिङका लागि युवाहरुको छनौटमा पर्ने स्थान हो । यस आसपास रहेको बनकाली, मृगस्थलीलगायतका स्थानहरुमा जोडीको उल्लेख्य उपस्थिति देख्न सकिन्छ । हरियाली बन क्षेत्रले धेरै जोडीलाई यहाँ आकर्षित गर्छ ।
युएन पार्क : व्यवस्थित नभए पनि बागमती किनारमा रहेको यूएन पार्क जोडीहरुका निम्ती गन्तब्य बन्दै गइरहेको छ । पार्कमा लगाइएका रुखहरु बढ्न थालेपछि उक्त स्थान सितलतामा रमाउन जानेहरुको भन्दा पनि जोडीहरुको भीड देख्न पाइन्छ । एकीकृत बागमती विकास परियोजना अन्तर्गत निर्माण भइरहेको काठमाडौं बुद्धनगर पछाडी रहेको यो पार्क जोडीहरुले डेटिङ स्पटका रुपमा रोज्ने गर्छन । यहाँ प्रवेशका लागि शुल्क निर्धारण गरिएको छैन ।
भृकुटी मण्डप पार्क : विशेषगरी व्यावसायिक प्रदर्शनीका रुपमा चिनिएको भृकुटी मण्डपसँगै रहेको फनपार्क जोडीहरुका लागि उपयुक्त जक्सनका रुपमा चर्चित छ । फनपार्कसँगै जोडिएको पार्क प्रवेशका लागि शुल्क निर्धारण गरिएको छ । उता फन पार्कमा जोडीहरुका लागि उस्तै रमाइला गेमहरु छन् । कफिसपदेखि रमाइला खेलमा रमाउन धेरै जोडीहरु यहाँ पुग्छन् । तर फनपार्क प्रवेशका लागि शुल्क लाग्छ ।
स्वयम्भु परिसर : धार्मिक स्थल परिसरका रमणीय स्थलहरु प्राय डेटिङ स्पटका रुपमा चिनिएका छन् । त्यसमध्ये बौद्ध धर्मावलम्बीको धार्मिक स्थल स्वयम्भु पनि डेटिङका रुपमा रोजिन्छ । काठमाडौं शहरभन्दा केही उच्च स्थानमा रहेको स्वयम्भु शहरको रमणीय दृश्यावलोकन साथै शितलतामा रमाउन सकिन्छ ।
बाइसधारा पार्क: काठमाडौं बालाजुमा रहेको बाइसधारा पार्क धार्मिक तथा ऐतिहाँसिक स्थल हो । यो स्थान प्रेम जोडीहरुका लागि भरपर्दो गन्तब्य हो । स–साना माछापोखरी तथा बगैंचा साथै सँगै रहेको रानीबनमा रमाइलो गर्न जोडीहरुले यस स्थानमा रोज्ने गर्छन ।
ककनी: नुवाकोट जिल्लामा पर्ने ककनी काठमाडौं नजिकैको पर्यटकीय स्थल हो । स्टेबरी र ट्राउन माछाले प्रख्यात यो स्थान जोडीहरुको उपयुक्त मानिन्छ । काठमाडौंको माछापोखरीबाट बस चढेर २० किलोमिटर यात्रा गरेपछि ककनी पुग्न सकिन्छ । एकै दिनमा फर्केर अउन सकिने यहाँ स–साना उद्यान तथा हरियाली डाँडाहरु छन् । बासका लागी पनि सुविधायुक्त होटहरु छन् । हरियाली वातावरण भएको ककनी धेरैको रोजाइमा पर्न सक्ने ‘पर्यटकीय हब’ हो ।
वाइट गुम्बा: शान्त वातावरण भएको वाइट गुम्बा जोडीहरुका लागि मन भूल्याउने उपयुक्त स्थान हो । डुक अमिताभा माउण्टेन नामाकरण गरिएको वाइट अर्थात सेतो गुम्बा धेरै प्रेमजोडीहरुले रोज्ने गर्छन । यहाँबाट काठमाडौं उपत्यकाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । सार्वजनिक सवारी साधन नपुग्ने यस स्थानमा जान वाइक सहज हुन्छ । स्वयम्भु वा सितापाइलाबाट डेढ घण्टा हिंडेर गुम्बामा पुग्न सकिन्छ । रमणीय बगैंचा र हरियाली डाँडाहरुमा रमाउन खुबै मजा आउँछ ।
चोभार: भ्यालेन्टाइनमा मात्र नभई अन्य दिन पनि डेटिङको गन्तब्य हो चोभार । काठमाडौं बल्खुबाट करिब साढे चार किलोमिटर दक्षिण क्षेत्रमा रहेको चोभारबाट काठमाडौं सहरको सुन्दर दृश्य र हिमाल पनि अवलोकन गर्न सकिन्छ । जोडीलाई लुकिछिपी माया साटासाट गर्न यहाँ प्रशस्त स्थानहरु छ । चलचित्र तथा म्युजिक भिडियोका छायांकनका लागि प्रख्याती कमाएको यो स्थान सुनसान र एकान्त छ । शनिबार र अन्य सार्वजनिक विदाका दिनमा यहाँ डेटिङ, बनभोज र घुम्न जानेहरुको भीड लाग्ने गर्छ ।
भोटेचौर: ‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौंबाट नजिकै रहेको भोटेचौरको चियाबगान धेरै जोडीको रोजाइमा पर्छ । प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमा प्रेमजोडीहरुका लागि अब्बल छ ।
चावहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको भोटेचौरमा सुविधायुक्त होटलहरु पनि छन् । साँखुबाट दुई घण्टाको बसयात्रा गरे भोटेचौर पुगिन्छ । साँखुबाट पाँच घण्टा हाइकिङ गर्दै जाँदा भ्यालेन्टनाइ अविस्मरणीय हुन्छ ।
गोदावरी: गोदावरी जोडीहरुकै लागि मात्रै हो कि जस्तो लाग्छ किनकी यहाँ बाहै महिना जोडिहरुको भिड लागिरहन्छ । ललितपुरको गोदावरी क्षेत्र डेटिङका लागि प्रख्यात छ । शान्त वातावरण, हरियाली बनजंगल, विभिन्न प्रजातिका फूल यहाँका विशेषता हुन् ।
सातदोबाटोबाट करिब १० किलोमिटर माइक्रोमा यात्रा गरेर यहाँ पुग्न सकिन्छ । फेमेली पिकनिकका लागि पनि यस स्थानले ख्याति कमाएको छ ।
टौदह: भ्यालेन्टाइनमा टौदहको यात्रा अविस्मणीय हुन्छ । काठमाडौंबाट नजिकै रहेको यो स्थान अत्यन्तै रमणीय छ । उपत्यका भित्रको सबैभन्दा ठूलो ताल मानिएको यस आसपास घुमेर आनन्द लिन सकिन्छ । धेरै प्रेम जोडीहरु र कलेजका विद्यार्थीहरुको रोजाइमा पर्ने टौदह कीर्तिपुर नगरपालिका–१५ मा पर्छ । काठमाडौंको पुरानो बसपार्कबाट दक्षिणकालीको बस चढेर यहाँ पुग्न सकिन्छ । यहाँ पुग्न पुरानो बसपार्कबाट सात किलोमिटर मात्र यात्र तय गरे पुग्छ ।
चिसापानी: हाइकिङ गर्दै भ्यालेन्टाइनलाई स्मरणीय बनाउन चिसापानी अब्बल गन्तव्य हो । नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंको संगमस्थल चिसापानी पुग्न सुन्दरीजलबाट करिब सात घण्टा हाइकिङ गरेर पुग्न सकिन्छ । घना जंगल र तामाङ बस्तीहरुको अवलोकन गर्दै सात घण्टा यात्रा गर्दाको मजा बेग्लै हुन्छ । शिवपुरी निकुञ्जमा टिकट काटेर जंगल र बस्ती छिचोल्दै चिसापानी डाँडामा पुग्न सकिन्छ । गौरीशंकर, लाङटाङ हिमालको मजाले दृश्यावलोकन गर्न सकिने यहाँ बाट एकैदिनमा पनि काठमाडौं फर्कन सकिन्छ । एकरात बास बस्ने हो भने सुविधायुक्त होटलहरु छन् ।
इन्द्र सरोबर: विद्युत उत्पादन गर्न पानी भरिएको मकवानपुरको इन्द्र सरोबर (कुलेखानी) जोडीहरुले रोज्ने गन्तब्य हो । घुम्नका लागी उपयुक्त स्थान हो । माछाका परिकारहरु खानका लागी धेरैको रोजाइमा कुलेखानी पर्छ । यहाँ सफा पानीमा निलो आकाशको छायाँ पर्दा हेर्न खुबै रमाइलो हुन्छ । तालमा काठका डुंगा सयर गरेर रमाउन जोडीहरु यहाँ पुग्छन । निजी गाडी वा वाइकमा प्रेम जोडी वा दम्पत्तीहरु पुग्ने गर्छन । काठमाडौंबाट फर्पिङ हुँदै ४५ मिलोमिटर वा सिस्नेरीबाट ५५ किलोमिटर यात्रापछि कुलेखानी पुगिन्छ ।
सुन्दरीजल: धेरै टिएनएजहरुको रोजाइमा पर्ने सुन्दरीजल प्रेमजोडीका लागि रोजाइमा पर्ने डेटिङ स्पट हो । शिवपुरी–नागार्जुन निकुन्ज क्षेत्रमा पर्ने सुन्दरीजल हरियाली जंगलले घेरिएकाले सुनसान र एकान्त छ । जलासय क्षेत्र, कलकल पानी बगिरहेको खोला–खोल्सीहरु यहाँका आकर्षण हुन् । निकुन्ज क्षेत्रमा प्रवेशका लागि शुल्क तिरेपछि सुन्दरीजललाई दिनभर फन्को लगाउन पाइन्छ । काठमाडौं बसपार्कबाट १६ किलोमिटर यात्रा गरेर यहाँ पुग्न सकिन्छ ।