विन लघुवित्त घाटामा

काठमाडौं, २ फागुन । विन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड २४ लाख ६३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ५६ लाख ५१ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी सात करोड ९२ लाख ११ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा १६ करोड ८२ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ करोड आठ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा छ दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १६ करोड ६० लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी ७७ करोड १७ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४३ लाख ९८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।