शुक्रबार ०९ फागुन, २०८१

मोबाइल बैंकिङ्ग प्रयोगकर्ता २ करोड ६३ लाख भन्दा बढी

मोबाइल बैंकिङ्ग प्रयोगकर्ता २ करोड ६३ लाख भन्दा बढी

काठमाडौँ, २ फागुन । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या दुई करोड ६३ लाख भन्दा बढी पुगेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २ करोड ६३ लाख ३६ हजार ११७ जना पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८० को पुस मसान्तसम्म २ करोड ३२ लाख १५ हजार १८० मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको थियो । त्यसअघि २०८० को असारसम्म यस्तो सङ्ख्या २ करोड १३ लाख ६३ हजार ९८९ रहेको थियो । त्यसयता मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या निरन्तर बढिरहेको छ ।

वालेट प्रयोगकर्ताहरूको सङ्ख्या पनि उल्लेख्य बढेको छ । नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक वर्षमै ४३ लाख भन्दा बढी थपिएको छ । २०८० को पुसदेखि २०८१ को पुससम्म आइपुग्दा ४३ लाख ५१ हजार ६५५ जना नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् ।

२०८० को पुससम्म नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड १२ लाख २८ हजार ५२९   थियो । उक्त सङ्ख्या २०८१ को पुससम्म आइपुग्दा दुई करोड ५५ लाख ८० हजार १८४ पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

चालू आवको पुससम्म आइपुग्दा डेबिट कार्ड प्रयोगकर्ताको सङ्ख्या एक करोड ३३ लाख लाख ६३ हजार १७४ पुगेको छ भने क्रेडिट कार्ड प्रयोगकर्ताको सङ्ख्या ३ लाख ६ हजार ६०५ पुगेको छ । यसका साथै प्रिपेड कार्ड प्रयोगकर्ताको सङ्ख्या २ लाख १९ हजार ६९७ पुगेको छ ।

त्यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २१ लाख १८ हजार ३८४ पुगेको छ । कनेक्ट आईपीएस प्रयोगकर्ताहरूको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

२०८० को पुस मसान्तसम्म ११ लाख ९७ हजार ७०५ जना कनेक्ट आईपीएस प्रयोगकर्ता रहेकोमा उक्त सङ्ख्या २०८१ को पुससम्म आइपुग्दा १३ लाख ६४ हजार ९८८ पुगेको राष्ट्र बैंकले जनाएको छ ।