आइतबार ११ फागुन, २०८१

दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु

दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु

क्वेटा (पाकिस्तान), २ फागुन । दक्षिण पश्चिम पाकिस्तानमा शुक्रबार इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) बाट भएको विस्फोटमा १० जना मजदुरको मृत्यु भएको एक अधिकारीले बताएका छन् ।

विपन्न बलुचिस्तानमा सुरक्षा बलहरूले पृथकतावादी समूहहरूसँग दशकौँदेखि विद्रोहको सामना गरिरहेका  छन् । सीमावर्ती क्षेत्रहरूमा विगत तीन वर्षमा हिंसा बढेको छ ।

शुक्रबार मजदुरहरूको एक समूह हर्नाइ जिल्लाको बजारतर्फ जाँदै गर्दा विस्फोटको चपेटामा परेको स्थानीय सरकारी अधिकारी सलिम तारीनले बताए । उनले ‘आईईडी विस्फोट’ भएको हुन सक्ने जानकारी दिएका छन् ।

‘हर्नाइ जिल्लामा भएको आक्रमणमा १० खानी मजदुरको मृत्यु भयो,’ अर्का वरिष्ठ सरकारी अधिकारी शहजाद जहरीले भने । हर्नाइ दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट १६० किलोमिटरभन्दा टाढा छ ।