कैलालीको टीकापुरलाई गुलाबको शहर बनाउने अभियान सुरु
![कैलालीको टीकापुरलाई गुलाबको शहर बनाउने अभियान सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/gulab-1-1739530937_yjqglFOWHO_gninehygsu9bz0lxzy51jvlio8zthd4xaxxtzltiywrrsntdhnblgiyvw5ns_Vaxa3Uedya_3vbqpo3z6hh90ags5lks3yxzbruewitxj2oxnqtjy6abvnuuhy60dshnw0yj.jpg)
टीकापुर, २ फागुन । प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको शहर बनाउने अभियान सुरु गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले गुलाबको बिरुवा रोपेर अभियानको औपचारिक सुरुवात गरे ।
उनले टीकापुरलाई गुलाबको शहर बनाउने अभियानको सुरुवात गर्नु मात्र ठूलो कुरा नभएको र त्यसलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिन नगरपालिकालाई सुझाव दिए । 'बजारमा गुलाब रोपेर शहरलाई सुन्दर बनाउने काम राम्रो हो', उनले भने, 'यस अभियानमा सबै नागरिकले सघाउनुपर्छ । मेरो तर्फबाट पनि साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।'
मन्त्री चौधरीले टीकापुर बजारलाई गुलाबको शहर बनाउँदै गर्दा टीकापुर पार्कलाई ओझेलमा पार्न नहुने बताए । टीकापुरलाई गुलाबको शहर बनाउने अभियानलाई सहयोग पुगोस् भनी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले पाँच लाख सहयोग हस्तान्तरण गरेको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य ललिता सुनारले नगरपालिकाको अभियान राम्रो भएको र अभियान सफल पार्न आफूले सघाउने बताए । सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपानेले आफूले गुलाबको बगैँचासहितको गुलाबको शहर कतै नदेखेको बताए ।
नगरप्रमुख रामलाल डंगौरा थारुले टीकापुरलाई गुलाबको शहर बनाउने अभियानमा टीकापुर नगरपालिकाको पैसा खर्च नगरेरै श्रमदान तथा अरूको सहयोगबाट गुलाब रोप्न लागेको र त्यसमा सहयोग गर्न सबैलाई अपिल गरे । पहिलो दिन टीकापुर नगरपालिकाको प्राङ्गणमा र खडक चोकदेखि जमरा पुलबीचको भागमा गुलाबका बिरुवा रोपिएका छन् । गुलाब रोप्ने अभिायनमा विभिन्न विद्यालय र समुदायले श्रमदान गरेका छन् ।