बुधबार ०७ फागुन, २०८१

सरकारलाई कृषि समितिको निर्देशन- स्वर्गद्वारी गुठी किसानको समस्या समाधान गर्न कानून बनाउनू

सरकारलाई कृषि समितिको निर्देशन- स्वर्गद्वारी गुठी किसानको समस्या समाधान गर्न कानून बनाउनू

काठमाडौं, २ फागुन । स्वर्गद्वारी गुठी किसानहरूको वास्तविक पहिचान गरी समस्या समाधानका लागि आवश्यक कानुनी व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले वास्तविक किसान पहिचान गरी उनीहरूले जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने गरी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

सभापति कुसुमदेवी थापाले स्वर्गद्वारी गुठी किसानहरूलाई जग्गाधनी प्रमाणपत्र प्राप्त गर्न आवश्यक पर्ने कानुनी व्यवस्थाका लागि गुठी संस्थानसहितको आवश्यक समन्वयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिइएको बताइन् ।

'स्वर्गद्वारी गुठी किसानहरूको वास्तविक पहिचानका आधारमा जग्गाधनी प्रमाणपत्र प्राप्त गर्न आवश्यक पर्ने कानुन तर्जुमा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन छ,' उनले भनिन् ।

समितिले यस सम्बन्धमा परेका समस्या र विशेष कार्यप्रगति फागुन महिनाभित्र संसदीय समितिलाई जानकारी गराउनसमेत निर्देशन दिएको छ ।