बुधबार ०७ फागुन, २०८१

प्रेमिल गजलकार पार्वती भट्ट 'प्रेमाश्रु' का हृदयस्पर्शी गजल

प्रेमिल गजलकार पार्वती भट्ट 'प्रेमाश्रु' का हृदयस्पर्शी गजल

                     गजल – १

.मेरो दिलको भित्तामा पढ्न सकेनौं  लिखित थियो ।
यो  राजनीति  र  नेता   सधैं  मबाट  घृणित  थियो  ।

अबोध छँदै यी आँखाले  भयानक दृश्य देखेका हुन्
एक अमुक प्राणी अनेक शासक बाट शोषित थियो ।

सत्तामा पुग्यो आखिर् विकासी बुँदा देखाई-देखाई
मनमा  स्वःहित  मात्र   मुखमा खुबै  परहित थियो ।

म छु - केही गर्छु, आश्वासनले अल्मल्याईरह्यो सधैं 
उसलाई के प्रवाह,आश्वस्त कति धेरै पीडित थियो ? 

छिनालियो निर्धाको घाँटी पनि,स्वार्थकै बलिवेदीमा 
किञ्चित  दुखेन उसलाई  त्यो त उसको रित थियो ।

प्राङ्गणमा बोलाएर - मेरै  प्रहसन, किन गर्‍यौ  बन्धु
बस्;एक गम्भीर प्रश्न मभित्रको,प्रश्नमै सीमित थियो ।

                    .......

                      गजल – २

मुस्कुराउँछु , मुस्कुराउन देऊ , एकै पल भएपनि ।                                            

दुनियाँले खुसी देख्नेछ,ओठको हाँसो छल भएपनि ।

आज एक नौलो आयाम बोकेर हिड्ने प्रयत्न गर्दैछु

हार स्विकार छैन , विगतका सपना विफल भएपनि ।

अहँ ,मैलो हुँदै नहुने,, मात्र एउटै मन हो, आमाको

निश्छल हुदैनन् अन्य आफन्ती मन,असल भएपनि ।

सपपत्रीले बडो सुगन्धित-सुन्दर ठानेछ स्वयंलाई

परिचर्चा बटुल्दै फुलेको हिलोमा , कमल भएपनि ।

जिन्दगी भाँचिएको तरवारझैँ भा'छ,एक अपेक्षा छ

प्रेम गर्नेले गरिरहोस् , स्थिति फेरबदल भएपनि।

                         ......

                       गजल – ३

गएजस्तो   जीवनबाट   मेरै   अनुरागी  गएजस्तो !
किन लाग्दैन मलाई, कोही पराया-दागी गएजस्तो ! 

एकछिन  कोही  आएथ्यो  जीवनमा  प्रवेशै छलेर
हुदैछ केही  दिए दिएजस्तो, केही मागी गएजस्तो ! 

साथैमा हुँदा सपना देख्यौं,जुरुक्क उठ्यो अपर्झट
गर्‍यो सायद! साँच्चै तारा झार्न मेरैलागि गएजस्तो ! 

जिस्कियो-मस्कियो-ठुस्कियो,मेरा हरेक हर्कतसँग
लाग्दैछ  हो जस्तो मेरै प्रेमी,कहिले बागी गएजस्तो ! 

भन त ! भनेजस्तो जिन्दगी,छ सजिलो कहाँ र यहाँ
बोटबाटै   थुङ्गो   चुसेर   भमरा    भागी  गएजस्तो !

                          ....

                 गजल – ४

आफू त आफैंसँग हो झर्किने, रिसाउने पनि ।

अनेक गरि घरिघरि,घुर्क्याएर फकाउने पनि ।

अगणित मनकल्पहरुले अनिर्णित छु आज

यहाँ छैन कोही मेरो आफ्नो सम्झाउने पनि ।

मसाने शान्ति छ घरि तीब्र हावाको गर्जन

कला सिकिसकेँ, यस्तो सबै पचाउने पनि ।

आफू आफ्नै समस्या बनी हेर्छु पटक पटक

अनि आफैं हुँ जुध्ने-लड्ने,टुङ्गो लाउने पनि ।

गुनासो राख्ने ठाउँ छैन कहिँकतै-मै हुँ आफै

आफूलाई जाँच्न समस्याहरु व्युताउने पनि ।