शनिबार ०३ फागुन, २०८१

मनकलीले उत्पादन गरेको सिस्नो पाउडर जापान र कोरियासम्म

मनकलीले उत्पादन गरेको सिस्नो पाउडर जापान र कोरियासम्म

ढोरपाटन, ३ फागुन । ताराखोला गाउँपालिका–५ बारडुलेकी ४६ वर्षीया मनकली घर्ती मगरले २०६७ सालदेखि सिस्नोको पाउडर उत्पादन गर्दै आएकी छन् । बारीको काल्नामा खेर गइरहेको सिस्नोलाई प्रशोधन गरी पाउडर बनाएर देशका ठूला सहर र विदेश पठाउने गर्छिन्, मनकली । चौध वर्ष अगाडि जिल्ला लघु उद्यम सङ्घले दिएको पाँच दिनको तालिमले उनलाई उद्यमी बनायो । उद्यमीसँगै अहिले उहाँ प्रशिक्षकका रूपमा ज्यादा चिनिन्छन् ।

विहान बेलुका घरको काम धन्दामा व्यस्त हुने मनकली फुर्सदको समयमा काल्नामा उम्रिएको सिस्नो टिपेर प्रशोधन गर्छिन् । आवश्यक मेसिन नहुँदा पनि उनले घरेलु सामग्री प्रयोग गरी सिस्नोका पाउडर उत्पादन र प्याकेजिङ गर्छिन् । गाउँमा कसैले पनि सिस्नो बिक्री हुन्छ भन्ने विश्वास गर्दैनथे । तर, अहिले विदेशदेखि नै माग आउन थालेपछि गाउँले पत्याउन थालेका छन् । ताराखोलामा मनकली सिस्नोको पाउडर उत्पादन गर्ने र अरुलाई प्रशिक्षण दिन एक्लो महिला हुन् ।

घर्ती मगरले कक्षा पाँचसम्म अध्ययन गर्नु भए पनि सिस्नो पाउडर बनाउन सिक्नेका लागि शिक्षक नै बनेकी छन् । गाउँमा एक पटक लिएको तालिमले मनकलीको दैनिकी नै फेरिँदै गएको छ । घरको काम धन्दामा मात्रै सीमित उनी अहिले फुर्सद्को समयमा बारीको सिस्नो टिप्ने र पाउडर बनाउने गर्छिन् । दुर्गम गाउँको सामान्य परिवारकी घर्ती मगरका तीन छोरी र एक छोरा छन् । श्रीमान् भने रोजगारीको सिलसिलामा मलेसिया छन् ।

बागलुङमा अहिलेसम्म व्यवसायिकरूपमा सिस्नोको पाउडर उत्पादन हुन सकेको छैन । धेरै महिलाले तालिम लिए पनि व्यवसायिक रूपमा उत्पादन गर्न तर्फ चासो दिन सकेका छैनन् । सिस्नोको पाउडर उत्पादन गर्न निकै झण्झटिलो र धेरै समय लाग्ने हुँदा धेरैले चासो नदिने मनकली बताउँछिन् । एक महिनामा करिब १५ किलो पाउडर तयार गर्न सकिने उनको भनाइ छ ।

एक किलो पाउडर उत्पादनका लागि करिब १० किलो काँचो सिस्नो आवश्यक पर्ने सुनाउँदै उनले बढी मेहनत र कम आम्दानी हुने हुँदा धेरैले चासो नदिएको बताईन् । विदेश जाने धेरैको रोजाइमा सिस्नाको पाउडर पर्ने हुँदा प्रतिकिलो दुई हजारसम्म लैजाने गरेको घर्ती मगरले सुनाईन् । आफुले फुर्सद्को समयमा मात्रै पाउडर उत्पादन र प्याकेजिङ गर्ने गरेपनि वार्षिक तीन लाखको हाराहारीमा आम्दानी गर्ने उनको भनाइ छ ।

पहिलेको तुलनामा पछिल्लो समय पाउडरको माग बढ्दै गएको छ भने मूल्य पनि बढ्दै गएको छ । डेढ दशक अगाडि गाउँका अरु महिलाले पनि तालिम लिए पनि उनीहरुले खास्सै चासो दिएनन् । मनकली एक्लैले निरन्तर मेहनत गर्दै जाँदा अहिले अन्य महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन् । समय–समयमा उनी तालिम दिनका लागि ठाउँ-ठाउँ पुग्छिन् ।

सिस्नोको पाउडरको माग नेपालमा भन्दा बढी विदेशबाट आउने मनकली बताउँछिन् । आधुनिक उपकरण भए त्यसभन्दा बढी कमाई गर्न सकिने भन्दै अब व्यवसायलाई थप व्यवस्थित गर्दै खेतबारीमा सिस्नोको खेती गर्ने योजना रहेको मनकलीले सुनाईन् । राज्यले आफूजस्ता उद्यमीलाई व्यवस्थित रूपमा उद्यम गर्न सघाउने भए धेरै महिलाको दैनिकी बदलिने उनको भनाइ छ ।