सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
![सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ](https://snowberry.prixacdn.net/media/gallery_folder/Aagalagii%25201_iL6KvoseUI_jckd9agzqxnxsmsgbckguqlg9rniumyhgh6soi4oorkf2csbfysxxcpugcdy_Emiis2x7nz_3ehpu0vewufew6czgacrczxdgcz3yuhmzmahuwml6u3ik5cy9wrt2cqwdppy.jpg)
ढोरपाटन (बागलुङ), ३ फागुन । बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन ।
शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन अझै नसकिएको भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए। सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा आगो लागेको हो ।
आगलागीका कारण उक्त क्षेत्रमा रहेका एक सयभन्दा बढी भेडीगोठ जोखिममा रहेको उनले बताए। आगो निभाउनका लागि स्थानीय र निसी प्रहरी चौकीबाट टोली खटिएको छ ।
अध्यक्ष मगरले भने, “आगालागी भएको क्षेत्र निसीखोलाका किसानहरुले भेडा चरनका रुपमा प्रयोग गर्ने ठाउँ हो, त्यहाँ एक सयभन्दा बढी गोठ र हजारौँको संख्यामा भेडाबाख्रा छन्, ति सबै आगलागीको जोखिममा छन् ।” आगलागीको कारण अझै पत्ता लागेको छैन ।