आइतबार ०४ फागुन, २०८१

लेवनानको राजधानी बेरुतमा नेपाली शान्ति सेनामाथि आक्रमण, उपरथी चोकबहादुर ढकाल घाइते

लेवनानको राजधानी बेरुतमा नेपाली शान्ति सेनामाथि आक्रमण, उपरथी चोकबहादुर ढकाल घाइते

काठमाडौँ, ३ फागुन ।  युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते भएका उपरथी ढकाललाई ‘यूएन लेभल–३’ अस्पतालमा पुर्याइएको थियो । अस्पतालले उनको स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ । उपरथी ढकाल कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा थिए ।

घटनाका सम्बन्धमा युनिफिल मिसन मुख्यालयले विज्ञप्ति जारी गर्दै दक्षिणी लेवनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ ।

शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेवनान सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।

लेवनानका प्रधानमन्त्री र लेवनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।