सोमबार १२ फागुन, २०८१

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ, ४ फागुन । सामान्य वर्षासँगै ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको जानकारी दिए । उनका अनुसार यसअघि गत पुस र माघमा दुईपटक हिमपात भएको थियो ।

३ हजार ७९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै चिसो बढेको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बर्सेनि हिउँ परेपछि  पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताए । 

यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन । वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलुलगायत बालीनाली फस्टाउन नसकेको स्थानीयले बताएका छन् ।