सोमबार १२ फागुन, २०८१

सञ्चार तथा विज्ञापन नीति निर्माण गर्न पत्रकार महासंघको ध्यानाकर्षण

सञ्चार तथा विज्ञापन नीति निर्माण गर्न पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौं, ४ फागुन । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले सञ्चार तथा विज्ञापन नीति निर्माण गर्न बुढानीलकण्ठ नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

चौथो रोजगार तथा वृत्ति मेलामा नगरपालिकाको ‘शिक्षा, सीप र उद्यमशीलता, रोजगारी हाम्रो प्राथमिकता’ नारासहित वृत्ति मेलामा पत्रकारिता तथा सञ्चार क्षेत्रमा रुचि राख्ने युवाका लागि महासङ्घले आफ्नो कक्ष राखी सूचना आदानप्रदान, मार्गदर्शन तथा परामर्श प्रदान गरेको थियो ।

महासङ्घको कक्ष भ्रमण गर्ने सहभागीले पत्रकारिता क्षेत्रमा करियर बनाउन आवश्यक सीप तथा तालिम आवश्यक पर्ने बताएका उपत्यका प्रदेश समितिका महासचिव आशिष गुरागाईंले जानकारी दिए।

बुढानीलकण्ठ नगरपालिकालाई स्थानीय सञ्चारमाध्यमहरूको दिगो विकास, विज्ञापन व्यवस्थापन र सूचना प्रवाहलाई प्रभावकारी बनाउन नीति निर्माण गर्न आग्रह गरिएको उनले बताए।

उनले भने, “स्थानीय सञ्चारमाध्यमहरूको प्रभावकारिता बढाउन विज्ञापन तथा सूचना प्रवाहलाई व्यवस्थित गर्ने नीति बनाउनु अपरिहार्य छ ।”

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा तथा अन्य स्थानीय प्रतिनिधिसँग संवाद कार्यक्रम गरिएको थियो ।

महासङ्घको प्रस्तावमा स्थानीय सरकार प्रमुख–उप प्रमुखले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए । महासङ्घ उपत्यका प्रदेश समितिले नगरपालिकासँग सहकार्य गर्दै स्थानीय सञ्चारमाध्यमलाई बजेट विनियोजन, विज्ञापन वितरणको मापदण्ड तथा पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।