शनिबार १० फागुन, २०८१

निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय

निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय

काठमाडौं, ४ फागुन । सत्तारुढ दलका प्रमुख सचेतकहरूले संसद्मा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अगाडी बढाउन पहल लिने निर्णय गरेका छन् ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार बिहान सिंहदरबारमा सत्तापक्षका दलका प्रमुख सचेतकहरूको बैठक बसेको थियो । एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा दलका प्रमुख सचेतकको उपस्थिति थियो ।

बैठकपछि बर्तौलाले संघीय निजामती विधेयक र शिक्षा विधेयक लगायतका संसद्मा विचाराधीन सबै विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेको जानकारी दिए ।

‘संसद्मा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउने विषयमा छलफल भएको छ’ उनले बताए ।

चालु अधिवेशन विधेयक अधिवेशन रहेकाले पनि बढी भन्दा बढी ऐन बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए । उनका अनुसार महत्वपूर्ण विधेयक अगाडि बढाउन पहल लिने निर्णय भएको छ ।