शुक्रबार ०९ फागुन, २०८१

बिवाइडीद्वारा ‘डिपाइलट सिस्टम’ सार्वजनिक

बिवाइडीद्वारा ‘डिपाइलट सिस्टम’ सार्वजनिक

काठमाडौं, ४ फागुन । विद्युतीय सवारी निर्माता बिवाइडीले आफ्नो मुख्यालय सेनझेन, चीनमा डिपाइलट एड्भान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाइलट सिस्टम) सार्वजनिक गरेको छ ।

डिपाइलट ६००, डिपाइलट ३०० र डिपाइलट १०० सहितको यो सिस्टमले सबै ग्राहकका लागि उच्चस्तरीय स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउन बिवाइडीको प्रतिबद्धता देखाउने कम्पनीले जनाएको छ । यसले सवारी उद्योगको प्रविधिगत रूपान्तरणलाई तीव्र बनाउने बताइएको छ ।

बिवाइडीले यो सुविधा आफ्ना सबै मोडेलमा निःशुल्क दिने जनाएको छ । कम्पनीले नयाँ प्रविधिसँगै ग्राहकलाई सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म सेन्सर र क्यामराजस्ता उच्च प्रविधि भएका सेल्फ ड्राइभिङ सिस्टम महँगा गाडीमा मात्र उपलब्ध हुने गरेको भए पनि कम्पनीले अब सबैलाई सहज रूपमा उपलब्ध गराउने भएको छ । कम्पनीका सिइओ वाङ छुवान्फुले भने, ‘राम्रो प्रविधि सबैको पहुँचमा हुनुपर्छ ।’ 

डिपाइलट सिस्टम तीन भिन्न संस्करणमा उपलब्ध हुनेछ । डिपाइलट ६०० मा तीनवटा लिडार छन्, जसलाई मुख्यतः याङवाङ मोडेलमा प्रयोग गरिनेछ । त्यस्तै, डिपाइलट ३०० मा एउटा लिडार छ, जुन मुख्य रूपमा डेन्जा र केही बिवाइडी मोडेलमा प्रयोग गरिनेछ । त्यस्तै, डिपाइलट १०० मा तीनवटा क्यामरा छन्, जुन बिवाइडीका विभिन्न मोडेलमा प्रयोग गरिनेछ ।

डिपाइलट १०० मा फ्रन्ट–फेसिङ तीन क्यामरा, सेन्सिङ हार्डवेयर र एन्ड–टु–एन्ड कन्ट्रोल एल्गोरिदम समावेश रहेको बताइएको छ । यसले राजमार्ग र सहरी हाइवेमा हाइस्पिड नेभिगेसन अन अटोपाइलट (एचएनओए) प्रणालीले नेभिगेसन मार्ग पछ्याएर र्‍याम्पबाट प्रवेश वा निकास गर्ने, लेन ठिक राख्ने, स्थिर गतिमा चल्ने, आफैँ लेन परिवर्तन गर्ने र केही अवरोध छलेर अगाडि बढ्नेजस्ता काम पूरा गर्न सक्ने कम्पनीको दाबी छ ।

एचएनओएअन्तर्गत डिपाइलट १०० ले एक हजार किमिसम्म विनाकुनै म्यानुअल हस्तक्षेप स्वचालित रूपमा यात्रा गर्न सक्नेछ । त्यस्तै, यसको अटोमेटिक एमरजेन्सी ब्रेकिङ प्रणालीले सय किमि प्रतिघण्टासम्म गाडीलाई भरपर्दो रूपमा रोक्नेछ, जसले आपत्कालीन अवस्थामा छिटो निर्णय गरेर हुने दुर्घटनाबाट बचाउने कम्पनीले जनाएको छ ।