त्रिभुवन विमानस्थलबाट अमेरिकी नागरिक विदेशी मुद्रासहित पक्राउ

काठमाडौं, ४ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागिएको विदेशी मुद्रा सहित एक अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार दिउँसो प्रहरीले अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई पक्राउ गरेको हो । उनी बाटिक एयरको उडानद्वारा मलेसिया जान लागेकी थिइन्। विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट ठूलो मात्रामा विदेशी मुद्रा तथा इलेक्ट्रोनिक सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
उनको झोलाबाट १२ हजार ७ सय ४८ अमेरिकी डलर, २ सय ४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियन रूपिया, १ सय मलेसियन रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९ थान, सिम कार्ड २८ थान र मेमोरी कार्ड १ सय २२ थान बरामद भएको छ ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।