भारतलाई हराउँदै नेपाल बन्यो च्याम्पियन

काठमाडौं, ४ फागुन । भारतलाई हराउँदै नेपाल बास्केटबल टोलीले थ्री बाई थ्री अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरको कभर्डहलमा विजय बुर्जाको कप्तानीमा रहेको नेपालले भारतलाई २१–१७ ले हराएको हो ।
कप्तान विजयसँगै टोलीमा मनिष केसी, निश्चल महर्जन र निकेश राखल मगरले उत्कृष्ट प्रदर्शन गरेका थिए । निकेश नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
उनले २५० अमेरिकी डलर प्राप्त गरेका छन् । विजेता नेपालले १२ सय र उपविजेता राइभल भारतले चार सय डलर प्राप्त गरे ।
फ्रिडम ग्लोबल नेटवर्क र राइभल नेसन्सले आयोजना गरेको प्रतियोगितामा नेपाल, भारत र पाकिस्तान सहभागी थिए । डबल राउन्ड रोबिन पद्धतिमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा शीर्ष दुईमा रहँदै नेपाल र भारतका टिम फाइनलमा स्थान बनाउन सफल भएका हुन् ।