केआईआईटी कलेजमा भएको घटनाकाबारेमा भारतसँग उच्चस्तरीय राजनीतिक संवाद गर्न सांसहरुको माग

काठमाडौं, ६ फागुन । सांसदहरुले भारतको ओडिसास्थीत कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा प्रकृति लम्सालको मृत्यु र नेपाली विद्यार्थीलाई गरिएको दूव्र्यवहारकाबारे छानबिनका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले घटनाको सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था जानकारी गराउन कूटनीतिक पहल गर्न माग गरेका हुन् । बैठकमा नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले विद्यार्थी दबाबमा रहेको जानकारी रहेकाले तथ्यपरक छानबिन गर्न माग गरे ।
नेकपा माओवादीका सांसद माधव सापकोटाले मृतक प्रकृति लम्सालको न्यायको लािग तत्काल सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद थालनी गर्न माग गरेका छन् ।
सापकोटाले उच्चस्तरीय राजनीतिक संवाद यथाशिघ्र थालनी गरेर समस्याको समाधान गर्न माग गरे । उनले भने,‘सरकारको तीव्र पहल कदमीको लागि माग गर्न चाहन्छु । र मृत प्रकृति लम्साल र उनका परिवारलाई न्याय दिन सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद यथाशिघ्र थालनी गरेर समस्याको समाधान गर्न जोडदार माग गर्छु ।’
त्यस्तै उनले नेपाली छात्रा लम्सालको भारतमा भएको रहस्यपूर्ण मृत्युको विरोधमा नेपाली विद्यार्थीहरु उत्रिँदा नेपालको कूटनीतिक सम्बन्ध राम्रो नहुँदा अपमानजनक व्यवहार भएकोमा आपत्ति जनाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राज्यको कूटनीति कमजोर हुँदा नेपाली नागरिकले दुःख पाएको आरोप लगाए । उनले संसद र सिंहदरबारमा दुई तिहाइको दम्भ देखिए पनि जनताले दुई तिहाइको अनुभूति गर्न नपाएको बताए ।
उनले भने, ‘हाम्रो कूटनीति कति कमजोर भयो कि, छिमेकमा एउटा कलेजको चौकीदारले पनि हाम्रो नागरिकलाई सजिलै पिट्दिन पाए । तिम्रो देशको बजेट मेरो युनिभर्सिटीको जति पनि छैन भनेर हेप्न पाए । हामी दुई तिहाइको दम्भ सिंहदरबार र सदनभन्दा बाहिर हाम्रा नागरिकहरूले फिल गर्न पाएकै रहेनछन्।’
त्यस्तै नेकपा एमालेका सांसद ठाकुर गैरेले विद्यालयका प्रशासकले गरेको अभद्र व्यवहारप्रति आक्रोश व्यक्त गरे । उनले नेपाली विद्यार्थीमाथि भएको व्यवहारप्रति खेद व्यक्त गरे ।
बैठकमा सांसदहरु सांसद प्रभु शाह, ध्रुवबहादुर प्रधानलगायतका सांसदले पनि भारतीय प्रशासकको व्यवहारको निन्दा गरेका छन् । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत भेटिएकी थिइन् । घटनापछि आक्रोशित नेपाली विद्यार्थीहरू विरोधमा उत्रिएका थिए ।
तर, ती विद्यार्थीहरुमाथि कलेज प्रशासनले दमन गर्दै कलेजबाट निकालेको थियो । त्यसको सर्वत्र विरोध भएको छ । त्यसपछि कलेजले क्षमा माग्दै विद्यार्थीलाई कलेज फर्कन आग्रह गरेको छ । कलेजले दुई सुरक्षागार्डलाई बर्खास्त गरेको छ भने तीन जनालाई निलम्बन गरेको जनाएको छ ।