कागेश्वरी मनोहरा नगरपालिकाले भोलि पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना गर्दै

काठमाडौं, ६ फागुन । कागेश्वरी मनोहरा नगरपालिकाले यही फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको दिन ११औं संस्करणको ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव तथा विशेष सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ ।
कागेश्वरी मनोहरा–१, कागेश्वरी धाममा आयोजना हुने महोत्सवमा लोकप्रिय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति दिने आयोजक कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले जानकारी दिएका छन् ।
महोत्सवमा लोकप्रिय व्यंग्यकार मनोज गजुरेलका साथमा हास्य कलाकारहरु रामचन्द्र अधिकारी, सीपी पुडासैनी (धतुरे बा) ले दर्शकलाई पेट मिचिमिची हँसाउने तयारी गरेका छन् ।
महोत्सवको सांगीतिक कार्यक्रममा भने गायिका अस्मिता अधिकारी, काँठे लोक दोहोरी गायक नवराज घोरासैनी, राजु परियार, विश्व दोङ, लगायत विभिन्न कलाकारहरुले आफ्ना गीत–संगीत प्रस्तुत गर्ने तयारी रहेको नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले जनाएका छन् ।
कार्यक्रममा अभिनेता सूर्यमणि आचार्य, कलाकार सुमन लि, कलाकार सुदन खड्का, पुष्कर सुनुवार, कमला थापा, मणिराज काफ्ले आदिले पनि आफ्नो प्रस्तुतिमार्फत महोत्सवमा आएका दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।