गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सद्वारा बौद्धका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं, ६ फागुन । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. ६, बौद्धस्थित अरुणिमा एजुकेशन फाउन्डेसनका विद्यार्थीहरूलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा डिजिटल बैंकिङ्गको महत्त्व, सुरक्षित प्रयोगका उपायहरू, र ग्राहकहरूले अपनाउनुपर्ने सावधानीहरू सम्बन्धमा जानकारी दिइएको थियो।
डिजिटल बैंकिङ्गमार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट बैंकिङ सेवा प्रयोग गर्न सक्ने, खाता तथा कारोबारलाई सुरक्षित राख्न पासवर्ड र दुई-चरण प्रमाणीकरण (Two-Factor Authentication) जस्ता उपायहरू अपनाउनुपर्ने, मोबाइल एप्स तथा वेबसाइटहरू प्रयोग गरी सजिलै रकम स्थानान्तरण गर्न सकिने विषयमा जानकारी दिइएको थियो।
यस कार्यक्रमलाई सफल बनाउन बौद्ध शाखाका शाखा प्रबन्धक दिगम्बर श्रेष्ठ, सूचना प्रविधी विभाग प्रमुख सुजन डंगोल, अन्य बैंकका कर्मचारीहरू तथा अरुणिमा एजुकेशन फाउन्डेसनका प्रिन्सिपल ईश्वरी प्रसाद न्यौपाने को उपस्थिति रहेको थियो।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत वित्तीय साक्षरता तथा सामाजिक कार्यहरूमा निरन्तर संलग्न रहँदै आएको छ। संस्थाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
हाल संस्थाले देशभर २३ शाखा कार्यालयहरू तथा ४ विस्तारित काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आएको छ। साथै, ATM सेवा, लकर सेवा, डिम्याट खाता, मोबाइल बैंकिङ सेवा जस्ता आधुनिक बैंकिङ सेवाहरू पनि उपलब्ध गराइरहेको छ। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले डिजिटल बैंकिङ्ग प्रवर्द्धन गर्दै ग्राहकहरूलाई सरल, सुरक्षित, र प्रभावकारी वित्तीय सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।