संविधानको रक्षा, पालना र कार्यान्वयन अहिलेको प्राथमिकताः अध्यक्ष दाहाल

काठमाडौं, ७ फागुन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त लोकतन्त्रको रक्षा एवं प्रवर्द्धनमा सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज शुभकामना दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको पालना, संरक्षण र कार्यान्वयन अहिलेको प्रमुख प्राथमिकता हुनुपर्ने बताए।
आजको दिन अग्रगामी राजनीतिक परिवर्तन र जनताको अधिकारका लागि एकताबद्ध हुन प्रेरणा दिने ऐतिहासिक दिन भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालको राजनीतिक इतिहासमा २००७ सालको परिवर्तन नै लोकतन्त्र प्राप्तिका लागि पहिलो सङ्गठित, सशक्त र सशस्त्र आन्दोलन भएको बताए ।
“लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा प्रजातान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउन अघि बढ्ने प्रण गर्नुमै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ”, अध्यक्ष दाहालले सन्देशमा भनेका छन् ।
उनले लोकतन्त्रको रक्षा, अभिव्यक्ति स्वतन्त्रता एवं देशको समृद्धि र विकासका लागि एकताबद्ध भई अघि बढ्न प्रेरणा मिलोस् भनी कामना गरेका छन्।