संविधान र कानुनले दिएको अधिकार क्षेत्रभित्र रही प्रदेशको विकास गर्छु : मुख्यमन्त्री कार्की

काठमाडौं, ७ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान र कानुनले दिएको अधिकार क्षेत्रभित्र रही प्रदेशको विकास गर्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ प्रदेशस्तरीय मूल समारोह समितिद्वारा आयोजित ‘७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस’ मूल समारोहको आज सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई बलियो बनाई समृद्ध हासिल गर्नेतर्फ सरकार क्रियाशील छ भन्दै प्रदेश सरकार स्थापना भएको सात वर्षमा उल्लेखनीय काम भएको जानकारी दिए । उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा सुखी नेपाली र समृद्ध नेपाल बनाउने राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न प्रदेश सरकार योजनाबद्ध अघि बढिरहेको छ ।”
मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजी निर्माण गरी राष्ट्रलाई समुन्नत बनाउने भन्दै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राजनीतिक दलहरूबीच सहमति, सहकार्य र एकता हुनुपर्छ भने । उनले आम नागरिकलाई सुखी बनाउन र शान्ति, सुरक्षा प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध छ भन्दै मुलुकलाई विकास र विकसित बनाउन निजी क्षेत्रसँग पनि सहकार्य गर्ने कुरामा जोड दिए ।
उनले मुलुकमा संघीयता स्थापना भएपछि संविधानले कल्पना गरेको समाजवाद पूरा हुने भन्दै मुलुकमा प्रजातन्त्र स्थापना गर्न आफ्ना ज्यान बलिदान गरेका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।
त्यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, विभिन्न जातजातिको संस्कृति झल्किने झाँकीसहितको र्यालीले नगर परिक्रमा गरेको थियो ।