प्रोटोन ब्राण्डको पहिलो विद्युतीय कार ‘ई–मास सेभेन’ अब नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं, ७ फागुन । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास ७’ नेपाली बजारमा भित्रिएको छ। प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपाली अटो बजारमा यो गाडी ल्याएको हो।
कम्पनीले केही समयपछि मात्र औपचारिक रुपमा सार्वजनिक गर्ने जनाएको छ। कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा गाडी उपलब्ध गराउने जनाएको छ। प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले ३४५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ।
त्यस्तै, प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसको रेन्ज ४१० किलोमिटरसम्म पुग्ने कम्पनीको दाबी छ।
गाडीमा नयाँ पुस्ताको एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जुन यसअघि प्रयोग गरिने एलएफपी ब्याट्रीभन्दा प्रभावकारी भएको कम्पनीको दाबी छ।
यसमा विन्डशिल्ड हेड–अप डिस्प्ले, फ्रन्ट भेन्टिलेटेड सिट जस्ता आधुनिक सुविधा उपलब्ध छन्। साथै, १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली जडान गरिएको छ, जसले गाडीलाई उच्च कार्यसम्पादन र दक्षता प्रदान गर्ने उल्लेख गरिएको छ।
यस विद्युतीय गाडीमा १०० किलोवाट डीसी फास्ट चार्जिङ क्षमता रहेको छ, जसले गाडीलाई मात्र २० मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने कम्पनीको दाबी छ। नेपाली विद्युतीय सवारी साधन बजारमा प्रोटोनको यो मोडेलले उल्लेखनीय प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।