बाढी पहिरोले क्षति पुर्याएका रामेछाप र दोलखाको सडक मर्मतका लागि बजेट सुनिश्चित

रामेछाप, ७ फागुन । गएको असोज महिनामा आएको बाढीले क्षति पुगेका रामेछाप र दोलखाका विभिन्न सडक निर्माणको लागि बजेट सुनिश्चित भएको छ ।
बाढीले क्षति पुर्याएका सडकको स्थलगत अवलोकन गरेर काठमाडौं फर्किएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ती सडकहरूमा बजेट सुनिश्चितताको निर्णय गर्नुभएकाे हाे ।
मन्त्रालयले रामेछापको खुर्कोटदेखि मिल्ती सडक खण्डको मर्मतका लागि ४० करोड रुपैँया सुनिश्चित गरेको छ । सो सडक वर्षाको कारण विभिन्न ठाउँमा क्षतिग्रस्त भएको छ ।
यसैगरी, मन्थली– चरिकोट सडक अन्तर्गत दोलखाको किर्ने–भोर्ले– ढोलीखोला सडक खण्डको लागि ४५ करोड रुपैँया बजेट सुनिश्चित गरिएको छ ।
सो सडकको किर्नेटारमा तामाकोसी नदीले सडक कटान गरेको छ । अहिले खिम्ति जलविद्युत आयोजनाको भित्रबाट अस्थायी रूपमा सडक सञ्चालन गरिएको छ । आयोजनास्थल भित्रबाट सञ्चालन गरिएको सडक बन्द गर्ने चेतावनी बारम्बार आयोजनाले दिँदै आएको छ ।
मन्त्रालयले मन्थली–चरिकोट सडकको मिल्ती–तामाकोसी सडक खण्ड मर्मतका लागि पनि बजेट सुनिश्चित गरेको छ । सो सडक खण्डका लागि २५ करोड रुपैँयाको बजेट सुनिश्चित गरिएको छ ।
यसैगरी, चरिकोट–सिङ्गटी–झमार्सी सडक खण्डकाे लागि ३० लाख रुपैँया बजेट सुनिश्चित भएको छ । यस अघि झमार्सी सडकलाई २ करोड ३० लाख रुपैँया विनियोजन गरिएको थियो ।
त्यस्तै नेपालबाट चीनको तिब्बत जोड्ने दोलखाको लामाबगर नाका खोल्न २० करोड रुपैँया विनियोजन गरिएको थियो । सिन्धुपाल्चोकको मुढेबाट दोलखाको चरिकोट आउने सडक खण्डको लागि १५ करोड रुपैँया टेण्डर भइसकेको छ ।
सडकमा पुगेको क्षतिको मन्त्री दाहाल, पूर्व मन्त्री पार्वत गुरुङ, सडक विभागका महानिर्देशक रामहरि पोखरेल सहितको टोलीले २ दिनसम्म स्थलगत अवलोकन गरेको थियो ।