शनिबार १० फागुन, २०८१

गगन थापा भन्छन्- पूर्वराजाको अभिव्यक्ति गणतन्त्रको सुन्दर पक्ष हो

गगन थापा भन्छन्- पूर्वराजाको अभिव्यक्ति गणतन्त्रको सुन्दर पक्ष हो

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताएका छन्।

विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै थापाले जनताले पटक-पटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्ने बताए।

‘गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्वराजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका छन्। विगतमा पूर्वराजाको शासनकालमा राष्ट्रद्रोहको हामीले बोलेकै भरमा राज्यद्रोहको मुद्दामा जेलमा हालिएको थियो। पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुखबन्द गर्न जादैनौँ’, उनले भने।

प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्थाप्रति होइन सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउने गरेको भन्दै उनले निर्वाचनको माध्यमबाट त्यो असन्तुष्टि व्यक्त हुने गरेको धारणा राखे।

‘यसर्थ पार्टीका नेता तथा कार्यकर्ताले गुट उपगुट नबनाई जनताको सर्वोपरी हितकालागि क्रियाशील हुनुपर्छ’, महामन्त्री थापाले भने।