आइतबार ११ फागुन, २०८१

कुम्भ मेलाबाट फर्कि‌एका नेपाली सवार गाडी दुर्घटना : ४ जनाको मृत्यु, ६ गम्भीर

कुम्भ मेलाबाट फर्कि‌एका नेपाली सवार गाडी दुर्घटना : ४ जनाको मृत्यु, ६ गम्भीर

काठमाडौं, १० फागुन । भारतको उत्तर प्रदेशको प्रयागराजस्थित कुम्भ स्नान गरेर फर्किएका चार नेपालीको गाडी दुर्घटनामा मृत्यु भएको छ । शुक्रबार राति भएको दुर्घटनमा परेर ६ जना नेपाली यात्रु गम्भीर घाइते भएका छन् ।

उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको  हो ।

मृत्यु भएकामध्ये तीनजना सप्तरी र एकजना सुनसरीका हुन् । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ की लिलादेवी चौधरी, कञ्चनरुप–७ कै पर्शुराम चौधरी र कञ्चनरुप–५, पिपरा पूर्वकी हरिहरदेवी यादव छन् ।

दुर्घटनामा परेर सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलिया देवी यादवको पनि ज्यान गएको छ ।

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जीतेन्द्र बस्नेतले कञ्चनरुपका तीन जनाको मृत्यु भएको तथा अन्य तीन जना घाइते भएको भारतीय प्रहरीबाट जानकारी प्राप्त भएको बताए ।

उनका अनुसार दुर्घटनामा शिक्षक उपेन्द्र चौधरी, जितु यादवलगायत छन् । घाइतेमध्ये दुईजना उदयपुरका पनि छन् । सबैको अवस्था गम्भीर रहेको भारतीय प्रहरीले बताएको डीएसपी बस्नेतले जानकारी दिए ।

घाइतेहरूको गोरखपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।