काठमाडौं, १० फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग रहँदै आएको दाबी गरेका छन् ।
उनले नेपालमा सञ्चालनमा रहेका एनजिओहरु एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार भएकोमा पनि आपत्ति जनाएका छन् । उनले एनजिओमा एमाले नेताहरुको संलग्नता रहेको भनेर गरिएको प्रचार तथ्यभन्दा निकै फरक रहेको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखका छन् :–
नेपालमा संचालित गैर सरकारी संस्था अधिकांश नेकपा(एमाले)संग संवन्धित रहेको भनेर प्रचार हुने गरेको छ । त्यसमा अझ नेताहरुको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकी तथ्य त्यो भन्दा निकै फरक छ । वालवालिकाको क्षेत्रमा काम गर्नुहुने मानव अधिकार अभियन्ता गौरी प्रधानले एउटा प्रसंगमा भन्नु भएको सन्दर्भ मलाई यति वेला संझना भइरहको छ । उहांले भन्नु भएको थियोः– मानव अधिकार एलाइन्ससंग सम्वध्द संस्थाहरुले विदेशवाट गैर सरकारी संस्थाले प्राप्त गर्ने अनुदानको १५ प्रतिसत हिस्सा पनि प्राप्त गर्दैनन्। तर पनि एलाइन्समा आवध्दहरु आखाको तारो बन्ने गरेका छन् । किनकी उनिहरु पारदर्शी रुपमा समुदायमा काम गर्दछन्। तर ८५ प्रतिसत भन्दा वढि अनुदान प्राप्त गर्नेहरु खासै चर्चामा छैनन् । किनकी उनीहरु मध्ये अधिकांश वन्द कोठामा काम गर्दछन्। उनिहरु के गर्दछन् आम मानिसलाई थाह पनि हुदैन । मलाई लाग्दछ सत्य यस्तै होला । जहासम्म नेकपा(एमाले)को मुल नेतृत्वको कुरा त्यो विदेशी अनुदान प्राप्त संस्थावाट पूर्णतः अलग रहदै आएको छ ।